जनकपुरधाम- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताएका हुन् ।
उनले संकटको बेलामा सबै दलले हातेमालो गर्दा राम्रो हुने बताउँदै विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्ने पार्टीसँग एकताबद्ध भएर जान सकिने धारणा राखे ।
‘नेपालमा जस्तो किसिमका चुनौती देखिएका छन्, ती चुनौती सामना गर्न सबै राजनीतिक दल एकजुट भएर जानुपर्छ,’ उनले भने, ‘सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । मिलेर जानुपर्छ ।’
आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू मात्रै भएको नेपालको टिप्पणी छ । वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आह्वान गरिरहेको भन्दै उनले एजेण्डा मिल्नेसँग सहकार्य गर्न तयार रहेको बताए । तर, कुनै पार्टीमा विलय नहुने उनले बताए ।
मन, भावना, संगठन सबै कुरा मिल्छ भने त्यस्तासँग संगठनसँग एकताबद्ध हुन सकिने उनको भनाइ छ ।