धनुषा। प्रदेश २ को नव नियुक्त प्रदेश प्रमुख राजेश झा कार्यभार सम्हाल्न आज अस्थायी राजधानी जनकपुरधाम आईपुग्नु भएको छ।
जनकपुरधाम आईपुग्नु भएको नव नियुक्त प्रदेश प्रमुख झालाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झा सहितको टोलीले प्रदेश प्रमुख झालाई स्वागत गर्दै १ सय १ किलोको माला पहिराएका थिए । यता प्रदेश प्रमुख झाको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुग्नु भएको थियो । उहाँले विशिष्ट कक्षमा झालाई स्वागत गर्नुभयो ।
यसअघि तिलक परियार प्रदेश प्रमुख बनेर आएपछि मुख्यमन्त्री लालबाबु राउत सहित केही मन्त्रीहरु आफैं स्वागतका लागि विमानस्थल पुगेका थिए ।
प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले झालाई स्वागत नगर्ने यसअघि नै बताइसकेका थिए ।नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुखको स्वागतमा मोटरसाइकल र्याली समेत निकालेका थिए ।
प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गर्नुभएको छ । झा पूजापाठ पश्चात आफ्नो निवासमा पुग्नु भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । सोही दिन तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।