धनुषा –उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेश मात्र होइन राजनीति स्थायित्व र मुलुकको निकासका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको बताउनुभएको छ । उहाँले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना पनि साकार हुने बताउनुभयो ।
शनिबार जनकपुरधाममा धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिकोत्सव तथा तेश्रो साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने दाबि गर्नुभयो । उहाँले भन्नुभयो, ‘ढुक्क हुनुस् आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ । तपाईहरु निर्वाचनको लागि तयारीमा जुुट्नुहोस् ।’
उपप्रधानमन्त्री पोखरेलले अहिले आफूहरुलाई सबैले गलत भनि रहेको भएपनि निर्वाचनबाट नै जनताले सही गलतको पहिचान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताभन्दा बढी ठूलो न्यायधिश कोही छैन, हामी गलत छौं भने जनताले दण्डित गर्छन्। यदि सही छौं भने जनताले आफ्नो अमूल्य मत दिएर पुरस्कृत गर्नेछ । त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ ।’
पाखरेलले आफ्नै पार्टी भित्रका केहि गलत तत्वहरुले सरकारलाई काम गर्न नदिई धरापमा पार्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गर्नुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताले दिएका बहुमतको सरकारलाई धक्का मारेर म्युजिकल चेयर रेस खेले झै बस्न खोजेपछि जनताको बहुमतलाई कदर गर्न जनताबाटै निर्णय होस भन्ने उद्देश्यले संसद विघटन गरि जनताको बिचमा जाने निर्णय गरिएको हो ।’
पार्टीको भित्रको विवाद बारे उहाँले भन्नुभयो, ‘नेकपाका अर्का अध्यक्ष प्रचण्ड ३३ वर्ष र माधव नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनेर बसेपनि अहिलेसम्म केही गर्न नसकी पद लोलुप्ता मै लागेको भन्दै हामी युवा पुस्तालाई नेतृत्व दिन खोजिरहेका छौं तर उहाँहरु कुर्सीमा टाँसिएर बस्न चाहनु हुन्छ पार्टी भित्रको मतभेद त्यही हो ।’
एक अर्को प्रसंगमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनकपुर–जयनगर रेल्वे चांडै नै संचालन हुने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले ठ्याक्कै यही मितिदेखि रेल संचालन हुन सक्ने नसकिने भए पनि चाँडै संचालनमा आउने बताउनुभयो ।
चेम्बर्स अफ कमर्स धनुषाका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, चेम्बर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठ लगायतका व्यक्तिहरुले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।