जनकपुर- जनकपुर वडा नं. २५ स्थित लोहनामा रहेका युवा तथा समाजका सचेत वर्गलाई धनुषा, महोत्तरी तथा सिराहा स्थित नेपाल एसबीआई बैंकको विभिन्न शाखाले वैदेशिक रोजगारीबाट फर्केका तथा जान खोजेका युवा तथा तिनका परिवारहरुका बीच सीप परियोजना मार्फत उपलब्ध ऋण तथा सो सम्बन्धी पुर्याउनु पर्ने बैंकिंग प्रकृयाका साथैं उक्त परियोजनाबाट उपब्ध अन्य रोजगारमूलक तालिम सम्बन्धी कार्यक्रमका बारेमा जानकारी प्रदान गरिएको छ ।
वैदेशिक रोजगारबाट फर्केका तथा जाने युवालाई एसबीआई बैंकले बिना धितो ऋण प्रवाह गर्दै आएको छ । प्रदेश सरकार, सीप परियोजना र एसबीआई बैंक बीच वैदेशिक रोजगारमा जानेहरूलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता बमोजिम बैंकले युवाहरूलाई ऋण दिने गरेको छ । उक्त बैंकका धनुषा, महोत्तरी तथा सिराहा जिल्ला स्थित कुनै पनि शाखाबाट सो सुविधा प्रयोग गर्न सकिन्छ ।
सीप परियोजना प्रदेश २ का क्षेत्रीय प्रमुख मोहम्मद साबीरले सीप परियोजनाको सहयोगमा शुरू भएको योजनाले साहु-महाजनबाट चर्को ब्याजमा ऋण लिएर वैदेशिक रोजगारमा जानुपर्ने युवाहरूको बाध्यता केही हदसम्म समाधान हुने तथा फर्केकाहरुले आ-आफ्ना व्यवसाय गरे आर्थिक योगदानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
परियोजना अन्तर्गत वैदेशिक रोजगारबाट फर्केकाहरुले स्वरोजगार सम्बन्धी कार्य गर्न ३ लाखको ऋण तथा वैदेशिक रोजगारमा जाने युवाहरूले राहदानी बनाएपछि बैंकमा नागरिकता, राहदानी र फोटो सहित निवेदन दिनुपर्छ र सोही कागजातको आधारमा बैंकले बचत खाता खोलिदिने र भिसा लागेपछि भिसा लागेको राहदानी र श्रम सम्झौता बैंकमा बुझाएमा विना धितो अधिकतम् १ लाख ५० हजार ऋण उपलब्ध गराउने जानकारी प्रदान गरे ।
प्रदेश सरकार, सीप परियोजना र नेपाल एसबिआई बैंक तथा प्रभु बैंक बीच गत वर्ष वैदेशिक रोजगारमा जाने युवाहरूलाई विना धितो सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको थियो । सोही सम्झौता अनुरूप बैंकहरूले सो ऋण सेवा प्रवाह गरेका हुन् । प्रभु बैंकले प्रदेशका सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा यस्तो ऋण सुविधा उपलब्ध गराउँदै छ भने सिरहा, धनुषा र महोत्तरीमा नेपाल एसबिआई बैंकले सेवा दिइरहेको कुरा सीप परियोजनाका क्षेत्रीय प्रमुख मोहम्मद साबीरले जानकारी दिए ।
उनले वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमैं सीप सिकेर जान सुझाव दिए । सीप सिकेर वैदेशिक रोजगारमा जाँदा जोखिमपूर्ण कामबाट जोगिने र सम्झौता अनुसारको काम पाइने सम्भावना बढी रहने उनले बताए । वैदेशिक रोजगारमा अदक्ष युवाहरूले भोग्नुपरेका समस्याका बारेमा समेत उनले अवगत गराएका थिए ।
प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजनाअनुरुप अहिले ८ वटा संस्थाले बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने तथा स्वरोजगार बनाउने सम्झौता बमोजिम काम गर्दै आएका छन् । सम्झौता अनुसार त्रिवेणी स्पिनिंग मिल्स, मोरंग अटो वर्क्स, लेवल स्टेप, रोजगारी पसल, नेपाल एसबीआई बैंक तथा प्रभु बैंक लगायतले प्रदेश २ मा कार्यक्रम संचालन गर्दै आईरहेका छन् ।
उक्त कार्यक्रममा सो वडाका वडा अध्यक्ष उमेश यादव, पूर्व हज कमिटी अध्यक्ष मास्टर सोएब रेजा, मोहम्मद कैश, महमुदुल हसन, मोहम्मद अनसारुल, पीसीयु जनकपुरका मोमताज राय लगायत सहभागी थिए ।