- मिश्रा देवी कार्की
सबै आमा बुवाको सारा सपना, खुशी, रहर नै आफ्ना सन्तान प्रति हुने कुरामा कुनै शंका छैन। वहाँहरूको कर्तव्य भनेकै आफ्ना सन्तानको भविष्य निर्माणमा केन्द्रित हुने गर्छ। म पनि दुई सन्तानकी एक जिम्मेवार आमा हुँ। मलाई २४ सै घण्टा यी नै सन्तानको सुख दुःखमा साथ दिएर सुनौलो भविष्य निर्माण गरी एक जिम्मेवार नागरिक कसरी बनाउन सक्छु भन्नेमा मेरो ध्यान केन्द्रित हुन्छ भने हरेक जो कोही आमा बुवाको पनि आफ्ना सन्तान प्रति यही नै भावना भेटिन्छ।
हो यस्तै थियो ति पति गुमाएर दुखद परिस्थितिमा बसेकी भागीरथीकी आमा द्रौपति आमाको पनि!! पति गुमाएको दुई महिनामा उनले आफू सेतो साडीमा श्रीमानको बियोगको पिडा सहेर पनि छोरीलाई एक जिम्मेवार नागरिक बनाउने सोचमा पछि नफरकी विधालय पठाएकी थिइन। छोरीको खुशी नै द्रौपतिको खुशी थियो। आफुले दुखलाई लुकाएर पनि कर्तव्यमा अडिग थिइन ति आमा। जसले कल्पना समेत गरेकी थिइनन् छोरी यसरी अपराधीको हातबाट निमोठिनछिन भनेर।
बैतडी जिल्लाको त्यस्तो गाउँमा पनि यस्तो जघन्य अपराधको घटना घटाउन सक्ने त्यो राक्षसीको पहिचान गरेर आजीवन बन्दी बनाउन नेपाल सरकारका सबै निकायहरू, नेपाल प्रहरी, अधिकारकर्मीहरू र पत्रकार सबैले आ आफ्नो क्षेत्रलाई फराकिलो पारेर अनुसन्धान गर्न सक्नुपर्छ। कसैको व्यक्तिगत स्वार्थमा यसरी नेपाली छोरीहरूको जीवनले मृत्युवरण गर्नु हुँदैन। हामी सबै जना यस धर्तीमा पाइला टेकन आउँदा महिला कै कोखबाट आएका हौं त्यो कुरा कसैले पनि नभूलौं। हामी सबैको जीवनमा छोरीहरू जोडिएका छन।
पहिला पनि निर्मला पन्थ, सम्झना बि क जस्ता धेरै छोरीहरूको जीवनमा राक्षसहरूको रजाइँ भएको छ। त्यस्ता जघन्य अपराधका घटनाहरू अहिले सम्म पनि हिलोमा लतपतिएर दबिएका छन्। यसमा न सरकारले न्याय दिन सको न नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा सफलता पायो न त अन्य अधिकारकर्मीहरूले नतिजा दिन सके। अहिलेको टेकनोलोजी युक्त समयमा पनि यस्ता घटनाले ओझेल पाएर अपराधीले उन्मुक्ति पाउने प्रवृत्तिको जगेर्ना हुनु भनेको टेकनोलोजीको सही प्रयोग नहुनु वा राजनीतिक हस्तक्षेप गरीनुमा कुनै एक चाहिँ पक्कै हो।
सरकारले विभिन्न किसिमका आयोग खडा गरेर आयुक्तहरू नियुक्ति गरेको हुन्छ तर पनि आयोगहरू निषकृय र मौन छन्। महिला आयोगले आज सम्म भागीरथीकी हत्याको बारेमा एक शब्द पनि बोलेको छैन। यसरी पटक पटक किशोरी छोरीहरू माथि जघन्य अपराध हुँदा आयोगले खेलने भूमिका के हो? खै त छोरीहरूको मानवअधिकार?
नेपालमा के किशोरी छोरीहरूले यसरी नै चुँडिनु पर्ने हो त? संविधानमा लेखिएको छ। कानुन बनाएको छ तर कार्यान्वयनमा कन्जुसाँई किन गर्छ सरकारले?
हामी सबैले आफ्नी र आफन्तकी छोरीको अनुहारलाई हेरेर नजिकबाट बुझ्ने प्रयास गरौं त अहिले भागीरथीकी आमालाई कति कठिन भएको छ बाँकी जीवन जिउन!! झन त्यो परिवारलाई त पिडा छ छ तर परिवार संग संगै त्यो समाजले एउटा अकल्पनीय डर बोकेर बाँच्नु परेको छ। यस्ता जघन्य अपराधका घटनाले पुरा देशमा भएका छोरीहरूको कलिलो मनस्थितिमा असर पुर्याई रहेको छ।
मानिसलाई चेतनशील प्राणी भनिन्छ तर त्यही मानिसले नै विवेक गुमाएर पशु भन्दा पनि तल झरेर घटिया ब्यबहार गर्ने हुँदा दिन प्रतिदिन यस्ता घटनाले अगरसरता पाई रहन्छन्। यदी सर्वश्रेष्ठ चेतनशील प्राणी र एक सभ्य समाजको असल नागरिक भन्ने जो कोहीले पनि सोचौं त सबैलाई नारीको साथ र सहयोग चाहिन्छ। सबै जना त्यही नारीको गर्वलाई पहिलो बासस्थान बनाएर उसैको योनिबाट जन्मेर फेरि उसैकै स्तनपान गरेर आफ्नो भोक र तिर्खा मेटाएर बिस्तारै आफुलाई शारीरिक र मानसिक बिकास गर्दै हुर्केका हुन्छौं। त्यहाँ निर महिलाको कति ठूलो योगदान रहेको हुन्छ। यसरी महिलाको काखबाट हुर्केर बाँचेका बच्चाहरू ठूला भएर महिला र पुरूष हुन्छन। तिनै पुरुषहरूबाट अनि फेरि त्यस्ता चिचिलाहरू निमोठनु भनेको चाहिँ त्यहाँ नीर उसले आफ्नी आमालाई बिर्सिएर आफ्नो जवानीको नाङ्गो नाच प्रदर्शन गर्नु हो। आफ्नो जवानीको उन्मादको चाहना पुरा गर्न त्यस्ता कलिला किशोरीको अंगमा कुदृषटी लगाएर बलजबसती आफू तृप्त भएर उसको पुरा जिन्दगी समाप्त पार्ने जो कोही अपराधी पनि तयसरी नै यो संसारबाट समाप्त पार्न सरकारले कदम उठाउन सक्नुपर्छ। यसरी एक कदम माथि उठन सक्दैन भने यसको विकल्पमा अपराध गर्ने अपराधीलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ। सरकारले आफैले प्रस्ट्याउन सक्नुपर्छ किन निमोठिनछन नेपाली छोरीहरू भनेर?