जनकपुर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं १ रमदैया स्थित जानकी मेडिकलका दुई कर्मचारीले २८ औं दिनमा आमरण अनशन तोडेका छन्।
विभिन्न माग राखी जानकी मेडिकल कलेजका कर्मचारी द्वय जानकी शरण यादव र कुल्दिप साह विगत २७ दिन देखि आमरण अनशनमा थिए ।
कलेज प्रशासन र कर्मचारीबीच तीनबुँदे सहमति पश्चात यादव र साहले २८ औं दिन शनिबार अनशन तोडेका हुन्। दुबै जनालाई जुस खुवाएर अनशन तोडाइएको कर्मचारी हकहित संघर्ष सममितिका संयोजक उमेश यादवले जानकारी दिए।
यस्तै जानकी मेडिकल कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना अधिकारी र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलित कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने दुबै पक्षबीच सहमति भएको हो।
केही कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता हुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्ता लगायतको हरहिसाब हुनुपर्ने लगायतको मागसहित दुबैजना अनशन बसेका थिए। असोजदेखि नै कर्मचारीहरु विभिन्न मागसहित जानकी मेडिकल शिक्षण अस्पतालको अकास्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी धर्ना लगायतको आन्दोलनको कार्यक्रम गर्दै आएका थिए।