जनकपुर – प्रादेशिक अस्पताल जनकपुरको आईसियु सेवा करिब दुई सातापछि पुनः सुचारु गरिएको छ । आइसियूमा खटिइने डाक्टर र स्वास्थ्यकर्मीहरू काममा फर्किएपछि आइसियु सेवा पुनः सुरु गरिएको हो ।
आइसियूमा खटिइने चिकित्सक र स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिएपछि दुई साताअघि सेवा बन्द गरिएको थियो। कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीलाई समेत जनरल आइसियूमा भर्ना गरिएपछि त्यहाँ कामगर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरू संक्रमित हुनपुगेको भन्दै उनीहरूले सेवा बन्द गरेका थिए।
प्रादेशिक अस्पतालको आइसियू सेवा बन्द भएपछि जनकपुर सहित यस क्षेत्रका सिकिस्त बिरामीहरूलाई उपचारको लागि निजी अस्पताल वा जनकपुर बाहिर जानुपर्ने बाध्यता उत्पत्र भएको थियो।
चिकित्सक, नर्स, सफाइ कर्मचारीलगायत ७० प्रतिशत जनशक्ति कोरोनाबाट संक्रमित भएपछि बन्द भएको आइसियू सेवा पुनः सञ्चालनमा आइसकेको एनेस्थेसिया तथा कृटिकल केयर विभाग प्रमुख (आइसियु इञ्चार्ज) डा. सञ्जय यादवले जानकारी दिए। संक्रमितमध्ये कतिपय कर्मचारीहरू अझै आइसोलेसनमा रहेको र केही निको भएर फर्किएपछि आइसियू सेवा सुरु भएको उनले बताएका छन्।
‘यस महामारीमा जटिल खाले बिरामीहरूलाई भर्ना नगर्ने परिस्थिति देखिएको छ, कोरोनाकै आशंकामा अस्पतालहरूले बिरामी भर्ना गर्न मानेका छैनन्,’ उनले भने,‘ बिरामीको समस्यालाई हेरेर थोरै जनशक्ति भएपनि सेवा सुरु गरेका छौं।’
चिकित्सक र स्वास्थ्यकर्मी अभावका कारण तत्काल ७० प्रतिशत बेडमात्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिँदै सम्पूर्ण कर्मचारी निको भएर फर्किएलगत्तै सम्पूर्ण बेड सञ्चालनमा ल्याइने बताए।
डा.यादवका अनुसार आइसियू वार्डका ८ मध्ये अहिले ६ वटा वेड सञ्चालनमा ल्याइएको छ। यसैगरी जम्मा तीनवटा भेन्टिलेटरमध्ये एउटा भेन्टिलेटर कोभिड अस्पतालमा लगिएकोले दुईवटा भेन्टिलेटरबाट उपचार गरिने उनले बताए। यादवले आइसियू सेवा सुरु भएपछि अहिले चारजना सिकिस्त बिरामीको उपचार भइरहेको बताएका छन्।
आइसियु सञ्चालनमा आएपछि सर्पदंश, दम, उच्च रक्तचाप, हर्ट एटेक, मस्तिष्क घात, बीस सेवन, शल्यक्रियालगायत गभ्मीर प्रकृतिका बिरामीलाई गर्न सहज हुने आइसियु इञ्चार्ज डा. सञ्जय यादवले जानकारी दिए ।
अस्पताल प्रशासनले कोरोनाका शंकास्पद बिरामीलाई जबरजस्ती जेनेरल आइसियूमा भर्ना गर्न थालेपछि आइसियू इञ्चार्ज डा. संजय यादवले पदबाट राजीनामा समेत दिएका थिए। तर, कोरोना महामारीको अवस्थामा अस्पतालले राजीनामा स्वीकृत नगरेको यादवले जनाए ।