काठमाडौं। काठमाडौंको सीतापाइलामा एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
बिहीबार जिल्ला अदालत काठमाडौंले २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलाम र मुन्ना मोहम्मद दुबै जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश दिएको हो।‘पीडितलाई अन्तरिम राहत भराउन र अभियुक्तहरूलाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश भएको छ,’जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्र कार्कीले भने।राहत कोषबाट पीडितलाई तत्काल दुई लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।
गत साउन ८ गते साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको थियो।
उनीमाथि आफ्नै पूर्वमालिक समेत रहेका रौतहट लक्ष्मीपुर घर भई काठमाडौंस्थित डल्लु बस्दै आएका आलामले नै एसिड प्रहार गर्न लगाएका थिए।उनले आफ्ना कामदार भारतीय नागरिक मुन्ना मोहम्मदलाई एसिड प्रहार गर्न लगाएका थिए।
एसिड प्रहार गर्ने मुन्ना र आलामलाई प्रहरीले आक्रमण गरेकै रात पक्राउ गरेको थियो।उनीहरूलाई प्रहरीले सिसिटीभीको फुटेजमार्फत् पक्राउ गरेको थियो।
उक्त मुद्दामा फैसलाका लागि सुनुवाइ हुन बाँकी छ।