महोत्तरी — भारतको नयाँदिल्लीबाट महोत्तरीकी २३ वर्षीया महिला घर फर्किइन् । फर्कने क्रममा कोरोना संक्रमण भयो । गर्भवती रहेकी उनलाई छिमेकी र समाजले दया देखाएन ।
आइसोलेसनमा समेत निकै दुःख भोग्नुपर्यो । १४ दिनअघि कोरोना पुष्टि भएकी उनलाई कुनै लक्षण छैन । ‘शरीरलाई कुनै रोग लागेजस्तो लाग्दैन तर समाजको अगाडि म निकै प्राणघातक रोगी सावित भएकी छु,’ बर्दिबास–३ को जनसेवा अस्पतालको आइसोलेसनमा बसेकी उनले भनिन् ।
श्रीमान्को जागिर नयाँदिल्लीमा रहेकाले उनी पनि उतै थिइन् । सँगै फर्किएका पाँच जनामा कोरोना देखियो । चार वर्षकी छोरीको नेगेटिभ रिपोर्ट आएपछि उनी घर आइन । सुत्केरी हुने दिन नजिकिँदै गर्दा उनी निकै असहज अवस्थामा आइसोलेसनको कोठामा छिन् । उनको गाउँ बर्दिबास–३ भप्सीमा दुई नन्द, एक जेठाजु र छोरीसहित नयाँदिल्लीबाट रिजर्भमा ल्याइएको गाडीले सर्लाहीको सोनवर्षा नाकामा ल्याएर झारिदिएको थियो । ‘वर्षाले नाकामा कम्मरमाथिसम्म पानी जमेको रहेछ,’ उनले भनिन्, ‘प्रहरीले उभिएर सुस्ताउनसमेत दिएन । भारी ज्यान दोबाटो खोज्दै बाढीको पानीमा हेलिएर मलंगवा निस्किएँ । बर्दिबास पुग्दासम्म ठूलै दशाबाट बाँचियो जस्तो लागेको थियो ।’
साउन १५ मा बर्दिबास आएर क्वारेन्टाइनमा बसेको तीन दिनपछि सँगै आएका सबैको स्वाब संकलन भयो । क्वारेन्टाइन र आइसोलेसनमा बसेको मंगलबार २० दिन बितेको छ । ‘घर र माइतीतिर निकै पीर गर्छन् तर मलाई केही भएको छैन भनेर सम्झाउँदै बसेकी छु । मसँग रोग त छँदै छैन । तर अब फेरि परीक्षण होला र घर जाउँला भनेर बसेकी छु,’ उनले भनिन्, ‘नेगेटिभ रिजल्ट लगेर समाजलाई देखाउनुछ । अरू कसैको डर छैन ।’
भदौ २५ मा सुत्केरी हुने मिति छ । प्रसूतिको समय नजिकै आएकाले परिवारले उनलाई होम आइसोलेसनमा राख्न लगेका थिए । तर, छिमेकीले बस्न नदिएपछि अस्पतालको आइसोलेसनमा पुगेकी हुन् ।