नेपाली कांग्रेस को स्थापनाकाल देखि नै कांग्रेसका नेताहरुले मधेशलाई आफ्नो गढको रुपमा बुझ्दै आएका छन् । इतिहास साक्षी छ, बिगतमा कांग्रेसले चुनावमा राम्रो प्रदर्शन गर्दै आएको भूमी हो मधेश ।
१३औँ महाधिवेशनको बेला मधेशमा चर्चा हुँदै गरेको विषय र गुनासो के थियो भने, कांगे्रसको गढ मधेश हुने तर पार्टी भित्र मधेशी समुदायलाई प्रतिनिधित्व गर्ने नेताहरुले केन्द्रिय सदस्यको समुहमा समेत आउन किन हम्मेहम्मे परेको होला ? माओवादीको आन्दोलन र मधेश आन्दोलन पश्चात नेपालमा पहिचानको राजनितिले तुल समात्दा अहिले हरेक दलमा बिभिन्न समुदायबाट आउने नेताहरुले आफ्नो दलभित्र पहिचानका सबालहरु जोडदार रुपमा उठाउँदै आएका छन् ।
नेपाली कांग्रेसको आधारभूमी मधेश रहँदै आएको कसैबाट लुकेको विषय होइन । यद्यपी पार्टीभित्र मधेशी समुदायलाई प्रतिनिधित्व गर्ने नेताहरुको आफ्नै संघर्षका कथाहरु रहँदै आएको छ ।
इतिहासगत कुरा गर्ने हो भने बि.सं २०१४ तिर को घटना हो । देशमा आम चुनावको घोषणा भएको थियो । मधुकर बाबु रेग्मी सिरहाबाट चुनावमा उठ्ने घोषणा गरी सक्नु भएको थियो । सिरहा मधेशी समुदायको बाहुल्य क्षेत्र थियो । त्यतीबेला केही मधेशीजनले वीपी कोइरालालाई भनेको थिए की पहाडी समुदायका नेता पहाड र मधेश दुवै ठाउँ बाट चुनाव लड्नु कतिको न्यायोचित हो ?
बीपीले जवाफ दिनुभयो, ‘यसपाली मधुकर बाबुलाई सिरहाबाट चुनाव लड्न दिनुस, म वाचा गर्छु की अर्को चुनावमा एकजना मधेशीलाई पहाडबाट चुनाव लडाएर विजय बनाउँछु ।’
बीपीले गरेको उक्त उदघोषको ६ दशक बितीसक्दा समेत आजसम्म कुनै मधेशीलाई पहाडको कुनै निर्वाचन क्षेत्रबाट टिकट समेत दिएको छैन्, चुनाव जित्नु परको कुरा भयो । यो घटनाक्रमलाई यहाँ राख्नुको उद्देश्य के हो भने, आधारभुमी मधेश रहेको कांग्रेस भित्र मधेशीको लागि नेतृत्व तहमा पुग्नु सहज छ की छैन् ? निणर्ायक तहमा मधेशी अनुहार पुग्नलाई ‘टोकनिज्म’ कै साहारा त चाहिँदैन होला ?
कुनै पनि राजनितिक दल तब मात्र लोकतान्त्रि भएको बुभिन्छ जब ती पार्टीले हरेक समुदायबाट नेता तयार गर्छ, नेतालाई निणर्ायक तहसम्म पुर्याउँछ र तिनलाई कार्य गर्न प्रेरित गर्छ । राजनितिक दल भनेको चुनाव जितेर सरकार चलाउनको लागि मात्र निर्माण भएको हुँदैन । राजनितिक दलले देशको आवश्यकता, हरेक भूगोलकोको महत्व र राजनितिक ओजलाई पार्टीमा यथोचित स्थान दिएर समावेसिता र बहुलवादको महत्वलाई पार्टीको संरचनामा सम्मान दिनु हो ।
कांग्रेसको १४औं महाधिवेशनले चर्चा पाउँदा कांग्रेसका वर्तमान उपसभापती विमलेन्द्र निधीले सभापतीको दौडमा आफुलाई ल्याउनु स्वभाविक हो । निधी नाम चलेका नेता मात्र होइन्न, काम गर्न ल्याकत बोकेका नेता हुन ।
बुवा महेन्द्र नरायण निधीको बिरासत नपाएको भए निधीको राजनितिक कद बढ्ने थिएन भन्नेहरुले के बिर्सनु हुन्न भने कांगे्रसका जनक वीपी कोइराला ले २०३६ सालमा उद्घाटन गरेको पहिलो र अन्तिम महाधिवेशन बाट निधी २३ वर्ष कै उमेर मा नेपाल विद्यार्थी संघ को केन्द्रिय सभापति बनेका थिए । विद्वता र दुरदृष्टिका धनी वीपीले निधी माथि कृपा गरेर नेविसंघमा पक्कै ल्याएको हुनुपर्दैन, निधी भित्रको सम्भावित नेतृत्व क्षमतालाई वीपीले उहिल्यै औँल्याउन सफल भए । र सफलता पुर्वक कार्यकाल निर्वाह गर्न सफल निधीको राजनितिक क्षमताको प्रदर्शन पनि त्यहीँबाट हुन गयो, देशब्यापी ।
मधेश आधारभूमी रहँदै आएको नेपाली कांगे्रस पछिल्लो समय मधेशवादी दलको उदय पश्चात मधेशमा कमजोर हुँदै गयो । नेपाली कांग्रेसमा मधेशलाई प्रतिनिधीत्व गर्ने महन्थ ठाकुर, जय प्रकाश गुप्ता, विजय गच्छदारहरुले कांग्रेस परित्याग गरेको असर अहिले पनि ब्याप्त छ, कांग्रेस भित्र । गच्छदारको नेपाली कांग्रेसमा ‘घरवापसी’ भए पनि त्यसले मधेशमा खासै असर नपारेको बुझ्नुपर्छ ।
वर्तमान अवस्थामा कांग्रेस भित्र मधेशी अहम अनुहार भनेको बिमलेन्द्र निधी नै हो । कांग्रेसले आउँदो फाल्गुनमा १४औँ महाधिवेशनको मिति तोके पश्चात निधीले सभापतिको उमेदवारी दिने भनि बढाएको सक्रियता पश्चात मधेशमा पनि निधीको पक्षमा बहसले स्थान पाउन थालेको छ । केहीदिन पहिला मात्र महोत्तरीमा कांग्रेसका एकजना जिम्मेवार नेतासंग पंक्तिकारको कुराकानी भएको थियो । मेलै जिज्ञासा राखे, निधीजी साँच्चिकै सभापतिमा लड्नु हुन्छ त ? ती नेताले जवाफ दिए, ‘निधीजीले सभापतीमा उम्मेदवारी दिनै पर्छ । उपसभापति भई सक्नुभयो । यसपाली उहाँ सभापतिमा आउनु भएन भने भविष्यमा कुनै मधेशी नेता कांग्रेसको सभापती हुने छनक समेत पाउन कठिन छ । निधीजी हरेक हिसाबले सभापतीको लागि योग्य पनि त हुनुहुन्छ र यसपालीको महाधिवेशन भनेको सिंगो कांगे्रसको परीक्षा पनि हो ।’
ती नेताले सिंगो कांग्रेसको परीक्षा हो भनि राख्दा यसको व्याख्यात्मक अर्थ भनेको यो हो की हरेक हिसाबले अब्बल बिमलेन्द्र निधी मधेशी भएकै कारण महाधिवेशनको भूमरीमा भासिने त होईन ? बिदितै छ १३औँ महाधिवेशनका बेला शेरबहादुर देउवा सभापति मा निर्वाचित हुँदा बिमलेन्द्र निधीको ठूलो योगदान थियो । हुन त नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण भएको बेला देखि नै देउवालाई मनपेटले निधीको सहयोग प्राप्त हुँदै आएको छ र दुवैजनाको सम्बन्ध परस्पर सहयोगको आधारमा पनि टिक्दै आएको छ ।
नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएको बेला उक्त पार्टीले एउटा सूत्र बनाएको थियो, ‘कदमजम’ । अर्थात, कणर्ालाी, दलित, मधेशी, जनजाति र महिला । यी वर्गलाई कांगे्रसले समेटेर सम्मानजनक भूमिका प्रदान गर्ने हो भने कांग्रेस मात्र बलियो हुने होइन, समग्र देशले फाइदा पाउने हो ।
अहिले कांग्रेस एकिकृत छ । अहिले पहाडमा कम्यिुनिस्ट हावी रहेको अवस्था छ र मधेशमा मधेशवादी दल । आसन्न १४औँ महाधिवेशन मा कांग्रेस एकढिक्का भई निधीलाई सभापतीको कुर्सीमा पुर्याएर आफ्नो दुरदर्शिताको प्रदर्शन गर्नुबाट किमार्थ चुक्नु हुँदैन । पूर्वमा कोइरालाको बिरासत छ, पश्चिम मा शेरबहादुर देउवाको । तैपनि मधेशमा कांगे्रसको ‘बिग ग्याप’ रहेको छ । त्यो ‘ग्याप फिलिङ्ग’ कसैले गर्नसक्छ भने त्यो हो बिमलेन्द्र निधी । ज्ञातब्य छ, मधेश आन्दोलनको बेला मधेशका नेताहरुले कांग्रेस परित्याग गरि राख्दा निधी कांग्रेस भित्रै रहेर मधेशमा पार्टीको साख जोगाएका थिए ।
निधीको राजनितिक ओज र रणनैतिक क्षमतालाई बुझ्न २०७३ सालको एउटा राजनितिक भाष्य परिवर्तन सम्बन्धि घटनालाई सम्झनु उचित ठान्दछु । त्यतिबेला एमाले माओवादी गठन्धन तोडेर माओवादी-कांग्रेस सहकार्य गर्न कांग्रेस सक्रिय देखिएका थिए र त्यो सम्भव तुल्याउने पात्र थिए बिमलेन्द्र निधी । त्यतिबेला नेपाली राजनितिका ‘गेम चेन्जर’ का रुपमा देखिएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढाल्न सत्ता रुढ गठबन्धन कै प्रमुख घटक माओवादीसंग मिलेर चालेको ‘स्टेप’ २३ वैशाखमा असफल भएपछि कांग्रेसका नेताहरुले माओवादी अध्यक्ष पुष्पकमल दहालमाथि धोकेवाज र विश्वासघाती भएको सार्वजनिक आरोप लगाएका थिए ।
माओवादी जस्तो अविश्वसनिय र अवसरवादी दललाई चिन्न नसकेको मा पार्टी सभापति शेरबहादुर देउवामाथि पनि हुस्सू भन्ने आरोप लागेको थियो । एमाले नेतृत्वको सरकार ढाल्नका निम्ति दहाललाई प्रधानमन्त्री बनाउन तयार भएको कांग्रेस अन्तिम घडीमा दहाल एमाले सितै मिलेपछि परिस्थिती बिचित्र किसिमको निर्माण भएको थियो । त्यसपछि त कांग्रेस-माओवादी मिलन सम्भव नहुने अनुमान समेत गरिएको थियो । तर त्यसको दुई महिनामै कांग्रेस-माओवादी निकटता मात्र बढेन, २८ असारमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य नै गर्यो र अर्को दिन कांग्रेस-माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध व्यवस्थापिका संसदमा अविश्वास प्रस्ताव नै दर्ता गरे । चरम अविश्वासको धरातलमा खसेका कांग्रेस-माओवादी ‘क्यामेस्ट्रि’ को पुर्ननिर्माण कसैले गरेको थियो भने त्यो हो बिमलेन्द्र निधी । राजनितिक प्रतिकुलताका माझ आफ्नो पार्टीलाई समय अनुकुल लाभ हासिल पार्ने गुण एक असल राजनितिज्ञमा मात्र हुन्छ, र निधी त्यस्ता गुणका धनी हुन् ।
निधीलाई प्रजातन्त्रको लडाई गर्न कांग्रेसले एउटा ‘प्लेटफमर्’ दियो । निधीले प्रजातन्त्रको लडाईमा आफ्नो सम्पूणर् उर्जा लगाए र कांग्रेसलाई मधेशमा बलियो आधारभूमी दिनुभयो । बेला आएको छ की कांग्रेसले निधीलाई पार्टी नेतृत्वको अवसर प्रदान गरुन, कार्यकारिनी सहितको ।
नेपालमा पहिलो संबिधानसभाको चुनाव पश्चात कांगे्रसले डा. रामवरण यादव लाई राष्ट्रपतिको उम्मेदवार मा अघि सारे । यादव संघीय नेपालको पहिलो राष्ट्रपति पनि भए । नेपाली कांग्रेसले यसलाई मधेशमा भजाउन चाहे । तर ‘रबर स्टाम्प’ जस्तो पदमा मधेशीलाई राखेर मधेशले राष्ट्रिय राजनितिमा स्थान पायो भनी ‘न्यारेटिव’ मधेशमा स्थापित हुन सकेन, कांग्रेसले गराउन पनि सकेन ।
अतः नेपाली कांग्रेसले निधीलाई सभापातीको कुर्सीमा बिराजमान गराउने हो भने यसले नेपाली कांगे्रसमा मधेशले स्थान पाउने आशा मात्र जगाउने छैन्, कांग्रेसमा नश्लिय विभेद छैन भनी आम मधेशीजनमा विश्वासको द्रुत प्रवाहिकरण गर्नेछ र समग्रमा भन्दा नेतृत्व क्षमताबाट सिंगो नेपाली कांग्रेस लाभान्वित हुनेछ ।