जनकपुर- पत्रकार कुट्ने प्रहरीमाथि कारबाहीको माग राख्दै गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएपछि पक्राउ परेका दुई युवक रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले युवाद्वय राजेश यादब र सुनिल साहलाई रिहा गरेका हुन् । टुडेखोज डटकमका सम्पादक सन्तोष यादब र रिपोर्टर सिबेन्द्र रोहितामाथि प्रहरीले गरेको कुटपिटको विरोधमा आईतवार साँझ जनकपुरको भानु चोकमा गृहमन्त्री थापाको तस्विर जलाएपछि उनी दुबै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
विहिवार साँझ नवजीवन अस्पतालमा एक महिलाको मृत्यू भएपछि प्रहरीले बल प्रयोग गरेर शुक्रवार साँझ उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याएका थिए । सोही बेलाको तस्विर खिच्ने क्रममा सम्पादक यादब र पत्रकार रोहितामाथि प्रहरीले घेरा हालेर निर्ममतापूर्वक कुटपिट गरेको थियो ।
घटनामा संलग्न दोषी प्रहरीलाई कारबाही गर्ने एसपी रमेश बस्नेतले पत्रकारहरुको टोली समक्ष प्रतिवद्धता जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान बिके शुक्लासहितमाथि विभागिय कारबाही गर्ने उनको भनाई छ ।
एसपी बस्नेतलाई भेटेर नेपाल प्रेस युनियनका धनुषा अध्यक्ष राजन सिंह, पत्रकारहरु किशोर गुरु, कुलदिप दास, ओमप्रकाश साह, जागेश्वर यादबलगायतले दोषी प्रहरीमाथि कारबाही गर्न माग गरेका थिए । सोही क्रममा एसपी बस्नेतले दोषी प्रहरीमाथि कारबाही हुने विश्वास दिलाएका छन् ।
