जनकपुर — मंगलबार प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन मतदान हुँदैछ । संसद्को कार्यसूचीमा संसद् बैठक बिहान ८ बजेदेखि गर्ने भनिए पनि पछि १० बजेलाई सारिएको थियो ।
अहिले पनि विभिन्न व्यवस्थापनका काम बाँकी रहेको भन्दै प्रदेशसभा बैठक सुरु हुन सकेको छैन । प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिको सुझावअनुसार मंगलबार गोप्य मतदान हुन लागेको हो ।
मंगलबार बिहानै राजपा संसदीय दलको बैठक बसेको थियो । बैठकले मतदानमा सबै सांसदलाई उपस्थित हुन ह्विप जारी गरेको छ । र प्रदेशको राजधानी जनकपुर र नाम मधेस राख्ने पक्षमा मतदान गर्न पनि ह्विप जारी गरिएको छ ।
नेकपाले नाम जानकी र राजधानी जनकपुर, कांग्रेसले नाम मिथिला भोजपुरा र राजधानी जनकपुरको प्रस्ताव दर्ता गराएको छ । उच्चस्तरीय समितिमा राजधानी जनकपुर राख्न दलीय सहमति जुटे पनि नाममा एकमत नहुँदा मतदानको प्रक्रिया अगाडि बढाइएको संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए । विशेष समितले बुझाएको प्रतिवेदनमाथि छलफल भएपछि गोप्य मतदानको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ । नेकपाको ३२, कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् ।
प्रतिक्रिया दिनुहोस