अजय शाह
जनकपुर २६गते फागुन
प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई महामूर्ख पदको मानपदवीले सम्मानित गरिएको छ ।
मिथिला नाट्य कला परिषद (मिनाप) जनकपुरद्वारा प्रत्येक वर्ष होली पूर्व सन्ध्यामा आयोजना गरिने महामुर्ख सम्मेलनमा यस वर्ष महामुर्खको उपाधी मुख्यमन्त्री राउतलाई प्रदान गरिएको छ ।
देश, जनता र समाजका लागि अग्रणी भुमिका निर्वाह गर्ने विशिष्ठ व्यक्तिहरुलाई व्यग्यात्मक शैलीमा महामूर्खदेखि वंशकुरहैर सम्मको १४ वटा मानपदवीले १४ जना व्यक्तिलाई सम्मान गरिएको छ ।
महामुर्ख सम्मेलनमा भभकौवाको मानपदवीले प्रदेश सांसद परमेश्वर साहलाई सम्मान गरिएको छ भने प्रदेश सांसद मनिष सुमनलाई पटमुर्ख, प्रदेश सांसद रामआशिष यादवलाई हराशंख, प्रदेश सांसद रामचन्द्र मण्डललाई सिलौट शंकर, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झालाई टुनमुसरी मानपदवीले सम्मान गरिएको छ।
त्यसैगरी अन्य सम्मानित हुनेहरुमा साहित्यकार रोशन जनकपुरीलाई बलगोवना, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीलाई खापसुरत, संकटमोचन देवशरण माध्यमिक विद्यालयका प्रध्यानाध्यापक बलराम साहलाई बज्रकिट, साहित्यकार पुनम झा मैथिललाई अदलबदली, काग्रेस नेता जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई लोरहाशंकर र सामाजिक अभियन्ता सुशिल कर्णलाई वंश कुरहैरको मानपदवीले सम्मान गरिएको छ।
सम्मानित व्यक्तिहरुलाई मिनापका अध्यक्ष परमेश झा र पूर्व अध्यक्ष सुनिल मल्लिक लगायतले स्वागत गर्दै मानपदवी प्रदान गरेका हुन् ।
सम्मानित हुने व्यक्तिहरुलाई तराई मधेशमा पाउने विभिन्न किसिमको तरकारीको मालाको साथै व्यग्यात्मक चित्र भएको टोपी, गमछा र सम्मानपत्रले सम्मान गरिएको छ ।
महामुर्खको उपाधी प्राप्त गर्दै मुख्यमन्त्री लाल बाबु राउतले भने, ‘कलाकारहरुले व्यग्यात्मक शैलीमा आलोचत्नामक तरिकाले आफुलाई यस वर्षको महामूर्खको उपाधि दिएर आफुलाई अझ देश प्रदेशप्रतिको दायित्वबोध गराएको छ । आफुले यस प्रकारको व्यंग्यात्मक तरिकाले सम्मानित हुने पहिलो पटक मौका पाएकाले आफुलाई यो क्षण अविस्मरणीय रहने छ।’
जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा विभिन्न कविहरुले व्यंग्यात्मक रुपमा कविता पाठ गर्नुको साथै मिनापका कलाकारहरुद्वारा होली सम्बन्धी विभिन्न लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
यस्तो छ महामूर्ख सम्मेलनको इतिहास
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुने गरेको छ । यसको प्रारम्भ नेपालको विरगंजबाट भएको स्थानीय जानकारहरु बताउँछन् । मैथिली साहित्य परिषद विरगंज २०५० सालमा यसप्रकारको पहिलो आयोजना गरेका थिए । पहिला महामूर्ख लाला माधवेन्द्र जी भएका थिए । यो सम्मेलनको परिकल्पनाकार मध्येका एक मैथिली साहित्य परिषदक पूर्व महासचिव एवं वरिष्ठ पत्रकार चन्द्र किशोर झा भन्नुहुन्छ, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रुपले परिवर्तनको समय थियो । त्यही परिवर्तनको बेला समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिको पनि योगदानको आवश्यकता रहेको थियो त्यहीबेला यसप्रकारको कन्सेप्ट आएको होे ।’ समाजमा रहेको विकृति विसंगतिलाई समाप्त पार्न ब्यंग्यले धेरै कार्य गर्ने गरेको उनको कथन रहेको छ ।
यता जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२मा एमाले नेता शीतल झा, २०६३मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४मा सदभावना नेता ओमकुमार झा, २०६५मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा सांसद रामसरोज यादव, २०७०मा राजपाका नेता एवं पूर्व सांसद डा. विजयकुमार सिंह, २०७१ मा नेकपा नेता एवं सांसद शत्रुधन महतो र २०७२ मा मसान घाटलाई स्वर्गद्वारी बनाएर चर्चा कमाउनु भएका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो ।
२०७३ सालमा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । भने २०७४ सालमा राजसभा सदस्य एवं राजपा नेता वृषेशचन्द्र लाललाई महामूर्खको उपाधी प्रदान गरिएको थियो । गत वर्ष जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई महामूर्ख बनाइएको थियो भने यस वर्ष मुख्यमन्त्री लालबाबु राउत महामुर्ख साबित भएका छन् ।
यसरी गरीन्छ महामूर्खको छनौट
छनौटको सन्दर्भको महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष मदन ठाकुर भन्नुहुन्छ, ‘महामूर्खको छनौटका लागि तयारी आयोजनासँग खोजी शुरु भइहाल्छ । यसका लागि एकटा कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि भिड नै लागेको हुन्छ ।’
२०६५ सालका महामूर्खको उपाधि प्राप्तकर्ता एवं मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल भन्नुहुन्छ, ‘उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि रहेको छ, प्रेमले मानिस हरेकथोक अर्थात विषपनि पिउने गरेको इतिहास रहेको छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।