निजगढ : देशका विभिन्न स्थानका सरकारी र सार्वजनिक जग्गा ब्यक्तिले कब्जा गरेको खबरहरु बाहिर आईरहदा बाराको निजगढमा पनि त्यस्तै प्रकृतिको जग्गा वर्षौदेखि व्यक्तिले कब्जा गर्दै आएको पाईएको छ ।
नगरभित्र विभिन्न स्थानमा सार्वजनिक जमिन कब्जा हुने क्रममा साविक निजगढ गा.वि.स. वडा नं ८ हाल बाराको निजगढ ९ बकैया पुल नजिकको पर्ती गौचरण जमिन व्यक्तिको नाममा दर्ता भएको पाईएको खबर निजगढसमाचार साप्ताहिकमा प्रकाशित छ ।
वि.स. २०४३ मंसिर १९ गते मालपोत कार्यालयको चलखेलमा व्यक्तिको नाममा दर्ता गरिएको हो ।
२०२१ सालामा सट्टाभर्ना दिने क्रममा पर्ति गौचरणको रुपमा छुट्याईएको सार्वजनिक जग्गा कित्ता नं. १३० को दुई विगाहा ७ कठ्ठा १७ धुर जमिन तीन जना व्यक्तिको नाममा दर्ता भएको हो ।
भवानीदेवी लम्साल, ईन्द्रबहादुर बनेपाली र शेरबहादुर श्रेष्ठको नाममा १७३, १७४, १७५ र १७६ कित्ता कायम गरिएको देखिएको छ ।
विभिन्न शक्ति केन्द्रको चलखेलमा तीन जनाको नाममा भएका जग्गा एक दर्जन बढी स्थानीयको नाममा कित्ताकाट गरिएको स्रोतले जनाएको छ । उक्त व्यक्तिहरुबाट समेत ठेकेदार सन्तोष गौतमको गजुरमुखि कन्ट्रक्सनको नामा दर्ता कायम गरिएको स्रोतको भनाई छ ।
आयोगको निरीक्षण
नेपाल सरकारद्वारा गठित सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगको टोलीले सो जमिनको स्थलगत निरीक्षण गरेर फर्केको छ ।
आयोगका अध्यक्ष मोहन रमण भट्टराई नेतृत्वको टोलीमा आयोगका सदस्य जानकीबल्लव अधिकारी तथा नापी विभागका अधिकृत लगायत सहभागि थिए । टोलीलाई नेकपाका नेता रविराज दंगाल लगायतका नेताहरुले सार्वजनिक प्रयोजनको जग्गा व्यक्तिले कब्जा गर्ने कार्यलाई निरुत्साहित गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताए ।
नगरपालिकाले चासो दिएन्
देशै भर सार्वजनिक, पर्ति गौचरण र नदि उकास जग्गाको छानविन चलिरहदा निजगढ नगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षण र पहिचानमा निजगढ नगरपालिकाले चासो नदिएको नेकपा प्रदेश कमिटी सदस्य दंगालले गुनासो गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्थानिय तह गठन हुनु पुर्व तत्कालिन नगर कार्यकारी प्रमुख विमल कुमार पोखरेलको संयोजकत्वमा गठित विभिन्न राजनैतिक दलका प्रतिनिधि सदस्य रहेको सार्वजनिक जग्गा पहिचान तथा अनुगमन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । समितिले करिव १७ बिगाह जग्गा पहिचान गरि निजगढ नगरपालिकामा प्रतिवेदन समेत बुझाएको उल्लेख गरेका छन् ।
निजगढको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न र गराउन सिफारीस गर्ने र गराउने व्यक्ति, जनप्रतिनिधि र कर्मचारीहरुको नाम सहित सार्वजनिक गर्न उनले नगरपालिकासंग ध्याकर्षण गराएका छन् ।
निजगढवासीको विरोध
गौचरणको रुपमा रहेको जग्गा रमन कन्ट्रक्सन हेटौडाले जिल्ला मालपोत कार्यालय बाराको मिलेमत्तोमा दर्ता गराएपछि त्यसको विरोधमा निजगढबासी आन्दोलित भएका थिए ।
आन्दोलनपछि पुर्नबेदन अदालत हेटौडाले निशेषज्ञा जारी गरि सो जग्गामा कामकारवार्ही नगर्न र अख्तीयार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले समेत सो जमिनलाई सार्वजनिक प्रयोग गर्न भनि केन्द्रलाई प्रतिबेदन बुझाएको थियो ।
निजगढ सार्वजनिक सरोकार समितिले विभिन्न चरणको आन्दोलन र अदालतको आदेशपछि प्रकृया रोकिएको अवस्थामा ४ वर्ष अघि निजगढ नगरपालिका कार्यालयले मालपोत तिरो बुझेको थियो ।
नगरपालिकाले तिरो बुझेपछि पुर्नबेदन अदालत हेटौडाका न्यायधिश बिनोद शर्मा र कुमार पोख्रेलको संयु्क्त ईजलासबाट कामबारवार्ही फुकुवा गरेपछि सोहि आदेशको आधारमा मालपोत कार्यालय बारामार्फत बढी धितो मुल्याङकन गरि बैंकबाट रकम निकाल्ने प्रयास समेत भएको थियो ।
जग्गा धितो राखेर ऋण दिने तयारी गरेको लक्ष्मी बैंक सो समयमा निजगढसमाचारले सार्वजनिक गरेपछि बैंकले प्रकृया गरेको थियो ।