जनकपुर- कुनै समय धनुषाको राजनीतिमा राज गरेका तर हाल जन्मकैदको सजायमा थुनामा रहेका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ विरुद्धका २ मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाइ सुरु भएको छ। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो।
न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशमा गत शुक्रबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो। साहले मन्त्री र सांसदको रुपमा पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको जिकीर गर्दै २०७३ पुस २५ गते अख्तियारले मुद्दा दायर गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागले २०७४ चैत १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत जनकपुरको फैसलाले थुनामा रहेको टक्लासहित श्रीमती र अन्य परिबारका सदस्यसहितको सम्पत्ति जफत हुनुपर्ने अख्तियारको माग दाबी थियो।
टक्लाले मन्त्री र सांसद हुँदा साढे ३१ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी अख्तियारले गरेको थियो।
साहले गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन अन्य १३ प्रतिवादीले साथ दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
टक्लाको मुद्दामा विशेषमा सरकारी वकिलले आफ्नो बहस समाप्त गरेका छन् भने उनका कानुन व्यवसायीको जिकीर चलिरहेको छ। उनको पक्षका कानुन व्यवसायीले बहस सकेपछि सरकारी वकिलहरुले जवाफ दिएपछि विशेषले फैसला सुनाउने छ।
साढे ३१ करोडको भ्रष्टाचार मुद्दा
अख्तियारले साहविरुद्ध अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको थियो।
व्यवस्थापिका संसदका सदस्य ९सभासद० तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनयापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
साहविरुद्ध अख्तियारमा उजुरीपछि छानबिन गर्दा उनको सम्पत्ति अस्वाभाविक देखिएको छ। आयोगले अनुसन्धान गर्दा दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य ९सभासद० भएर, भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेलासमेत साहले सार्वजनिक पद धारण गरेपछि अस्वाभाविक रुपमा सम्पत्ति लुकाएको अख्तियारको दाबी थियो।
साहले आफू तथा परिवारका सदस्यका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोबार, ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीका नामबाट भएका आर्थिक कारोबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अख्तियारको अभियोगमा उल्लेख छ।
अख्तियारले साहलाई बिगो ३१ करोड ५० लाख २६ हजार कायम गरी असुल गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय गर्न माग गरेको छ।
३२ करोड ४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साहविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। विभागले साहले गैरकानुनी रुपमा डर धम्की देखाएर चन्दा र जबर्जस्ती असुलीमार्फत् सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो। सम्पत्ति शुद्धीकरण विभागले सञ्जय साहका नाममा रहेका विभिन्न सम्पत्तिहरु रोक्का गर्दै अनुसन्धान गरेको थियो।
साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुका नाममा हस्तान्तरण गरेको विभागको दाबी थियो।
साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ।
विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे समेतका कूल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा लुकाएको दावी गरेको थियो।
साहले घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाइ नयाँ कानुनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाइ सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
जन्मकैदको फैसलाले थुनामा
जनकपुर बम काण्डका प्रमुख योजनाकार भनिएका साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै २०७५ चैतमा जन्मकैदको फैसला सुनाएको थियो।
७ वर्षअघि जनकपुरधामको रामानन्द चोकमा मिथिला आन्दोलनका क्रममा गराइएको बम विस्फोटको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतले पूर्वमन्त्री साहलाई मुख्य योजनाकारको रुपमा स्वीकार गरेको छ।
जन्मकैदको सजाय पाउनेहरुमा अर्जुनसिंह विद्यार्थी भनिने मुकेश चौधरी, राजनमुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा रहेका छन्।
विसं २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामानन्द चोकमा भएको विरोध कार्यक्रमका क्रममा बम विस्फोट भएको थियो। सो विस्फोटमा परी ५ जनाको मृत्यु भएको थियो। विस्फोटमा कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो।-नेपाललाइभबाट