जनकपुर ७गते फागुन
चारजना महिलाहरु अर्थि (शव) बोकेर निस्किएपछि धनुषाको एक ग्रामिण क्षेत्रमा हेर्नेहरुको लर्को लागेको थियो ।
हेर्नेहरुले आश्चर्य मान्नु पनि स्वाभाविक नै हो किनभने मैथिली मधेसी समुदायका महिलाहरुलाई शवको अन्तिम दाह संस्कारको लागि मसानघाट सम्म नलाने परम्परा रहेको समाजमा महिलाहरुले नै शवको अर्थि बोकेर मसानघाट लग्दै गरेका थिए ।
महिलाले अर्थि बोकेर लगेको फरक दृश्य धनुषाको सबैला नगरपालिका २ मा देखियो ।
सबैला २ का ६५ वर्षीय रामनारायण यादवको मंगलवार निधन भयो र मृतक यादव कुनै छोरा छैनन् । उनको ५ जना छोरी मात्रै रहेका छन् । पुरुषहरुले मात्र अर्थि उठाउने परम्परालाई तोड्दै यादवको जेठी छोरी ४० वर्षीया नेपुर यादव, माहिली ३७ वर्षीया राजोदेवी यादव, साहिली ३५ वर्षीया प्रमिलादेवी यादव सहित ३२ वर्षीया अनितादेवी यादव र ३० वर्षीया गोर्की यादवले बुवाको अर्थि (शव)लाई काँधमा बोके । उनिहरुले शवलाई गाउँभन्दा करिब ५ किलोमिटर पूर्व कमलाघाटसम्म काँधमा बोकेर लगे ।
छोरीहरु बुवाको शव काँधमा बोकेर हिंड्दै गर्दा आँखाबाट आँसु पनि थामिएको थिएन र अघिअघि उनकी आमा पनि हिडेका थिए ।
यसरी छोरीहरु नै अर्थिलाई काँध दिएर हिडेपछि स्थानीयहरु पनि मलामी भएर सहभागी भएका थिए ।
महिलाले अर्थि(शव) बोक्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै छोरीहरूले शव मसानघाट पुर्याए पछि मृतक यादवको पार्थिव शरीरलाई उनकै पत्नी ६२ वर्षीया रवियादेवी यादवले दागबत्ती दिईन् ।
रविया देवीले आफ्नो छोरा नभएले छोरीहरुलाई छोरा सरह पालनपोषण गरेको बताउँदै उनले भनिन् , ‘ हाम्रो लागि छोरीहरु नै छोरा सरह भएकोले मेरा सबै छोरीहरूले नै काँध दिनुपर्ने निर्णय गरेकी हुँ ।’
मृतक यादवकी जेठी छोरी नेपुरले आफूले बुवा पार्थिव शरीरलाई काँध दिन पाउँदा छोराहरुले गर्ने काम छोरीले पनि गर्न सक्छ भनेर खुशी महसुस गरेकी बताईन् । उनले भनिन्, ‘समाजिक रुपान्तरलागि पनि छोरीहरुले पनि छोराले झै काँध दिन र दागबत्ती दिन पाउनु पर्छ भन्ने सन्देश दिन पाएकोमा निकै खुशी महसुस गरेकी छु ।’
स्थानीय जगतसुन्दर साहले ‘छोरीहरुले ‘कन्धा’ दिनु र पत्नीले दागबत्ती दिएको कुरालाई गाउँसमाजले पनि सहज रुपले आत्मसात गर्दै प्रशंसा गरेको बताए ।
यस अघि छोरी वा महिलाले दागबत्ती दिएको कहिलेकाहीँ कतै कतै देखिएपनि अर्थि (शव) छोरीहरुले बोकेर मसानघाट लगेकोमा अहिले चर्चा विषय बन्नुको साथै छोरीहरुलाई सबैले प्रशंसा गरेका छन् ।