जनकपुर- गत २२ पुसमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरूमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको माग गर्दै जनकपुरधामका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको रोहवरमा घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही हुने गरी सर्वपक्षीय बैठकबाट नेपाल पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच गत २७ पुसमा ९ बुँदे सहमति भएको थियो ।
सहमति भएको एक साता बितिसक्दा पनि प्रजिअ कणेलले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धनुषाअन्तर्गत गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो ।
आन्दोलनको पहिलो चरणमा जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारले ७ देखि १८ माघसम्म हातमा कालो पट्टी बाँधेर कार्यालयसहित फिल्डमा कार्य गर्ने निर्णय भएको थियो ।
आइतबार बसेको बैठकमा संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा कुटपिट भएको ठहर गर्नुका साथै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरणकुमार कर्णलाई पुनर्गठित संघर्ष समितिको संयोजकमा चयन गरेको छ ।
आन्दोलनका अन्य कार्यक्रममा ८ माघमा महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रीय तथा प्रादेशिक महासंघका प्रतिनिधिलगायतसँग घटनाबारे छलफल, ११ गते सरोकारवालासँग, १३ गते राजनीतिक दलसँग र १८ गते नागरिक समाज, युवा क्लबलगायत विभिन्न संघसंगठनसँग छलफल गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।
गत २२ पुसमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा समाचार संकलनका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरूमाथि उनकै कार्यकक्षमा दुर्व्यवहार तथा कुटपिट गरिएको थियो ।
कुटपिटबाट कान्तिपुर टीभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देशसञ्चारका पत्रकार राजा झा, एबीसी टीभीका पत्रकार सुमित मिश्रलगायतका पत्रकारलाई चोटपटक लागेको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइलसमेत खोसिएको थियो ।
सो घटनालाई ओझेलमा पार्न जनकपुरधाम उपमहानगरपालिकाले उल्टै पत्रकारहरूले चार जना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरू गरेको थियो ।