थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने भएको छ। जनवरी १५ तारिख बुधवार को दिन (माघ १ गते ) थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरी ले जानकारी दिए।
न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५ मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले जानकारी दिएका छन्।
गत बर्ष सफल माघी पर्ब सम्पन्न गरिसकेको संस्थाले यस पटक अझ ब्यबस्थित रुप थारु संस्कृति झल्कने बिबिध सांस्कृतिक प्रस्तुतिहरु, भेष भुषा र थारू परिकारहरु सहित थारु समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू बिदेशी भूमिमा दर्शाउन उक्त अबसरमा प्रयास गरिने पनि संस्थाले जनाएको छ। भित्रि मधेश र तराईमा बसोबास भएको थारु समुदायको बिशेष चाड यस माघी पर्बबाट नै थारु सम्बत अनुसार नयाँ बर्ष पनि सुरु हुने गर्दछ । जस अनुसार आउदो माघ १ बाट थारु सम्बत अनुसार २६४३ सुरु हुन्छ।
थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अस्ट्रेलियामा पनि माघी महोत्सव मनाउन लागिएको अफिसर चौधरीले बताउनु भयो ।
पौष महिनाको अन्तिम दिन र माघ महिनाको पहिलो दिनलाई विशेष गरी मनाइने यो पर्व नेपालका थारू समुदायको प्रमुख चाड हो।
२४ औं विश्व आदिवासी दिबसको अवसर पारेर ९ अगस्ट ,२०१८ मा दीपनारायण चौधरीको अध्यक्षतामा थारू सोसाईटी सिडनी अष्ट्रेलिया गठन भएको हो |
के हो त माघी पर्ब
थारु माघी सो समुदायको नयाँ वर्ष हो । नेपालीका लागि माघे संक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघी पर्व पुरै महिनाभरी । पूर्वका थारुले यसलाई तिला संक्राइत् भन्ने गर्छन् । चाडपर्वमा मिठो खाने र रमाइलो गर्ने त हुन्छ नै । तर थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गर्छन् ।
माघीपर्व केवल खानपिन र रामरमाइलोमा मात्र सीमित छैन । खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदाय चाडपर्वलाई थकान मेटाउने अवसरको रुपमा उपयोग गर्छन् । एकाअपसमा रमाइलो, मनोरञ्जनका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारु समुदायमा अन्य पर्वभन्दा वेग्लै महत्व राख्छ । वर्ष दिनकालागि नयाँ नीतिनियम बनाउने, त्यसको कार्यान्वयनको प्रतिवद्धता गर्ने काम थारुले माघीमा गर्छन् । नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा गरी लोकतान्त्रिक प्रक्रियाअनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् ।
थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघीलाई विकासे पर्वकोरुपमा हेरिन्छ । ‘हाम्रो’ भावनाको विकास यही माघीले गराउँछ । पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास गर्छ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिनेकाम यसै पर्वमा हुन्छ । विवाह गरी ससुराली गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम हुन्छ । वर्षदिनको कामको समिक्षा गरी नयाँ कामको शुरुवात गर्ने पर्व भएकाले माघीलाई थारु समुदायले अन्य पर्वभन्दा विशेषरुपले लिन्छन् । त्यसैले यस पर्वलाई नयाँ वर्षकोरुपमा मनाउँछन् । थारु समुदायका लागि माघी किन महत्वपूर्ण छ भन्ने विषयमा यसको बहुआयामिक पक्षमा यहाँ चर्चा गरौं ।
मानिस समाजमा बस्ने प्राणी हो, त्यसैले सामाजिक प्राणी भयो । तर समाजमा बसेर उसको व्यवहार समाजिक, लोककल्याणकारी छ कि छैन, त्यसले महत्व राख्छ । थारु समुदाय समाजमा अन्तरघूलित भएर बस्ने आदिबासी जाति समुदाय हो । समाजमै बस्छ, समाजमै रमाउँछ र समाजकै गतिविधिमा संलग्न रहेर जिविकोपार्जन तथा अन्य विकासको काम गर्छ । त्यसैले होला थारु समुदायको घरपनि एकै ठाउँमा गुजमुज्ज परेर बनेका हुन्छन् । सुखदुःखमा एकअर्कालाई साथदिन मरिमेट्छन् । समाजिक भावना यी समुदायमा अधिक्तम पाइन्छ ।
माघी पर्व सामुहिकतामा मनाउँछन् थारुले । एक अर्कासँग भातृभाव, सद्भाव र प्रेम गरेर मनाउँछन् । आफू जे खान्छन् र अरुलाई पनि खुवाउँछन् । विहानै स्नानगरेर पूर्खाको आशीर्वाद लिएर थारु गाउँघरमा गरिने सबै रीतिरिवाज पूरा गर्छन् । सेवाढोग गरी माघीबाटै नयाँ सम्बन्ध र भाइचारा भावनाको विस्तार शुरु गर्छन् । चाहे मनोरञ्जन गर्न मघौटा नाच होस्, मासुकालागि सुंगुरबंगुर काट्दा (जिता मार्दा) होस् । पूर्खाको आशीर्वाद थाप्नेबेला होस् कि गाउँको, घरको जिम्मेवारी बाँडफाँड गर्दा होस् । सबै काम सामुहिक छलफल र निर्णयले गर्छन् थारु समुदायले । घरको मूली छान्नसमेत घरका सबै सदस्यहरुसँग छलफल गरी निक्र्यौल गर्ने प्रचलन छ ।
देशलाई विधिवतरुपमा सुचारु गर्न प्रधानमन्त्री, मन्त्री, संवैधानिक अंगका प्रमुख, शासक प्रशासक चाहेजस्तै, थारु गाउँलाई विधिवतरुपले सुचारु गर्न बडघर, भलमन्सा, चौकीदार, अघरिया आदिको आवश्यक्ता पर्छ । घरलाई हाँक्न घरमूलीको आवश्यकता पर्छ । थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् । यसले एकातिर सामाजिक भावनाको विकास गराउँछ भने अर्कोतिर निर्णय प्रक्रियामा सहभागी हुन सबैलाई उत्प्रेरित गर्छ ।
सहयोग, सहकार्य र समन्वय गर्ने भावनाको पनि यसले विकास गराउँछ । त्यसैले पनि माघीपर्वको सामाजिक महत्व बढी छ । गाउँको हरेक कामकाजको निर्णयमा गाउँभरीका सदस्यको सहभागिता रहन्छ । एकल निर्णय गरिदैन । विकास निर्माण, कुलोपानी आदिको व्यवस्थापनका लागि प्रस्ताव बडघर (गाउँको अगुवा) ले गर्छ, छलफल गरी निर्णय लिनेकाम सामुहिकरुपमा गरिन्छ । यो काम माघ महिनामै हुनेगर्छ, त्यसैले यसको सामाजिक महत्व प्रष्टिन्छ ।
सांस्कृतिक महत्वः
सांस्कृतिकरुपमा धनी समुदायमध्ये थारु एउटा हो । नेपालमा १२६ जातजाति र १२३ भाषाभाषि बोल्ने समुदाय छन् । थारु समुदाय भाषिकरुपमा चौथो ठूलो समुदाय हो । भाषा र संस्कृतिमा धनी यस समुदायको आफ्नो रीतिरिवाज, चालचलन र सांस्कृतिक मूल्य मान्यताहरु छन् । वर्ष दिनभर मेहनत गरेर अन्न उत्पादन गर्ने र थकानकालागि महिनैपिच्छे विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम यस समुदायले गर्नेगर्छ । थारु समुदायको नृत्य, सांस्कृतिक कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम भनेपछि जोसुकै हुरुक्कै हुन्छन् । अवलोकनका लागि लालायित हुन्छन् । यो नै थारु समुदायको सांस्कृतिक गौरवको विषय हो ।
माघी पर्वमा मटौता, हुरदंग्वा, झुमरा लगायतका नाचहरु नाचिन्छन् । सामुहिकरुपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायबीचको मेलमिलाप, भातृभाव र सामुहिकतालाई थप सहयोग गर्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम केवल सो समुदायकालागि मात्र होइन । यो त सिङ्गो नेपालीहरुको सांस्कृतिक गहनाकोरुपमा रहेको छ । वर्षौ वर्षसम्म एकापसमा भेटघाट नभएका व्यक्तिबीच माघीपर्वले भेटघाट गराउने, समन्यय र सदभाव बढाउने काम गर्छ ।
सांस्कृतिक कार्यक्रमले एकातिर मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिर सो समुदायको सांस्कृतिकपक्षको जगेर्ना गरिरहेको हुन्छ । नियमितरुपमा हुने यस्ता सांस्कृतिक कार्यक्रमले युवापीढिलाई समेत आकर्षित गर्छ र अंग्रेजी पढ्ने नाममा समाजबाट टाढा भएका युवा विद्यार्थीको समेत ध्यानलाई आकर्षित गर्छ । बलियो सांस्कृतिक पक्षलेगर्दा बुढापाकाले मनाउने यस्ता सांस्कृतिक कार्यक्रम क्रमशः युवापुस्तामा हस्तान्तरण हुँदैजान्छ । खासगरी माघीपर्व परम्परागतरुपमा मनाइने भएपनि यसको सांस्कृतिक पक्षलाई जोगाउनु पनि उत्तिकै महत्वको विषय हो ।
यसले एकअर्कालाई एउटै मालामा बाँधेर राख्ने भूमिका खेल्छ । त्यसैले माघी पर्वको सांस्कृतिक महत्व छ भनिन्छ । संस्कृति जुनसुकै समुदायको आफ्नो मौलिक पहिचान हो भने ती देशभित्र गरिने सबै जातजातिको कार्यक्रम अन्य मुलुकका लागि भने नेपालकै पहिचान बन्नजान्छ ।
राजनीतिक महत्वः
थारु समुदाय यहाँको आदिबासी भएपनि राजनीतिक चेतनामा निकै पछाडि परेको समुदाय हो । यस समुदायले स्थानीय गाउँघरमा सदियौंदेखि राजनीतिक अभ्यास गरेपनि देशको मूल प्रवाहको राजनीतिमा पकड बनाउन सकेको छैन । यद्यपि प्रयासमा छ । सो समुदायको गाउँघरको सीमित घेराभित्र गरिने लोकतान्त्रिक र राजनीतिक प्रक्रिया गाउँघरको घेराभन्दा बाहिर आउन अद्यापि आउन सकिरहेको छैन । गाउँको अगुवा, बडघर, घरमुली, विकास निर्माण समितिको संयोजक भएर परापूर्वकालदेखि सो समुदायले लोकतान्त्रिक अभ्यास गर्दैआएको छ । तर त्यही अनुभवलाई मूलप्रवाहमा चिनाउन असफल छ । त्यसको प्रयोग देशको राजनीतिमा गर्न सकेको छैन ।