
उम्मेदवारी दर्ता गर्ने क्रममा सत्तारुढ दल नेकपा र विपक्षी दल राजपा नेपालले संयुक्त रुपमा जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र केही दिन अघि संघीय सरकारबाट बाहिरिएको समाजवादी पार्टीले छुट्टाछुट्टै जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् । यस प्रदेशमा नेकपा र राजपाबीच चुनावी तालमेत भएको छ भने कांग्रेस र समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

नेकपा र राजपाबीच चुनावी तालमेल भएपछि संयुक्त रुपमा जुलुस लिएर तामछामका साथ उम्मेदवारी दिएका छन् भने कांग्रेस र समाजवादी पार्टीबीच संयुक्त जुलुससहित संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएको देखिएन ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा चार सिटका लागि आठ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

नेकपाबाट उम्मेदवारी दर्ता गराउनेमा महिलामा तुलसा दाहाल, दलित कोटामा राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराएका छन् भने अपाङ्ग तथा अल्पसंख्यकमा राजपाबाट शेखर सिंह र खुल्लातर्फ मृगेन्द्र प्रसाद सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कांग्रेसबाट महिलातर्फ नगिना यादव र अपाङ्ग तथा अल्पसंख्यकमा भोला पजियारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समाजवादी पार्टीबाट खुल्लातर्फ अिनिरुद्ध प्रसाद सिंह र दलितमा रामपृत पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि पनि पासवान सोही पार्टीबाट राष्ट्रिय सभा सदस्य थिए । उनलाई पार्टीले फेरी अवसर दिएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि २ वर्ष, अर्काे एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।
दुई वर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन् लागेको हो । राष्ट्रिय सभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । उनीहरूको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।
फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्ने नेकपा का ९ , कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना सदस्य छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।
गणितीय हिसाबले प्रदेश २ मा नेकपा र राजपा नेपालको गठबन्धन मजबुत
राष्ट्रिय सभाका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुने गर्दछन्। यस हिसाबले प्रदेश २ मा राष्ट्रिय सभा चुनावका लागि २ सय ७८ मतदाता रहेका छन्। जसमा नेकपाको प्रदेशसभा सदस्य ३२ मतदाता र स्थानीय तह ८३ मतदाता गरी सबभन्दा बढी १ सय १५ मतदाता छन्। यस्तै दोश्रोमा नेपाली कांग्रेसको प्रदेशसभा सदस्य १९ र स्थानीय तह ८१ गरी जम्मा एक सय मतदाता छन्। तेश्रोमा समाजवादी पार्टीको प्रदेशसभा ३० र स्थानीय तह ५२ गरी ८२ मतदाता र राजपा नेपालको प्रदेशसभा सदस्य २५ र स्थानीय तहको ४४ गरी ७९ मतदाता छन्। यस्तै नेपाली जनता दलको स्थानीय तहको स्वतन्त्र मतदाता २ र प्रदेशभाको १ स्वतन्त्र सांसद गरी ३ स्वतन्त्र मतदाता छन्। गणितीय हिसाबले प्रदेश २ मा नेकपा र राजपा नेपालको गठबन्धन मजबुत देखिन्छ।