महेन्द्रनगर /३० गते मंसीर
धनुषामा एक प्रहरी निरिक्षक सहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साह संग लिएको ऋणको रकम साहु र ब्याज गरी रु.४६ लाख तिर्नुपर्ने तथ्य फेला परे पछि घटनाको कडि आर्थिक लेनदेन विवाद र व्यक्तिगत दुश्मनीको कारण भएको जस्तो देखिएको प्रहरीले बताएको छ ।
बम विस्फोट घटनाको छानबिन गर्न बनेको समितिका एक सदस्यका् अनुसार घटनामा संलग्न आरोपमा पक्राउ परेका मध्ये सीताले राजेश संग पाँच लाख रुपैयाँ ऋण लिएको जसको साँवा व्याज गरी १२ लाख तिर्नु पर्ने र लतिफले ४१ लाख रुपैयाँ तिर्नुपर्ने कागज गरेको पनि भेटियो।’
बम विस्फोट घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेहरु मध्ये सीतादेवी महरा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक र ललिता महरा र रामसोभित गाहा केन्द्रीय सदस्य हुन्।
बम राखेको आशंकामा हंसपुर नगरपालिका–२ बघचौडाको सिंगै टोल घेरा हालेर प्रहरीले ललिता देवी महरा र सीता देवी महरा लाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अवधेस कुमार यादवले जानकारी दिए।
घटना बारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक उमाशंकर साहको संयोजकत्वमा ७ सदस्यीय छानवीन समिति गठन गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट हुँदा राजेश साह, उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर अमिर दाहालको मृत्यु भएको थियो।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीको भनाई अनुसार बम विस्फोट घटनाको अहिले सम्मको अनुसन्धानबाट आर्थिक लेनदेनको कारण उत्पन्न विवाद र रिसीबी तथा दुश्मनी नै रहेको देखिएको छ । डीआईजी कार्कीले यसैको आधार बनाएर सम्बन्धीत तथ्य र प्रमाण संकलनलाई महत्वका साथ अघि बढाएर अनुसन्धानलाई फराकिलो बनाएको बताए । उनले भने, ‘अनुसन्धानमा अपराधिक गिरोह र भूमिगत समूहको संलग्नतालाई पनि एकै ठाउँमा जोडेर हेरेका छौं ।’
कार्कीले विस्फोटमा परि मृत्यु हुने राजेश साह र बिप्लव समूहका सीता बीच विगतमा सम्बन्ध रहेकाले आर्थिक कारोबार भएको पाइएको बताए ।
प्रहरीले विप्लव समूहबाटै बम विस्फोट गराएको हुन सक्ने आशंकामा काठमाडौंको टोली समेत झिकाएर अनुसन्धान गरिरहेको छ ।
छानबिन समितिका एक प्रहरी अधिकृतले विस्फोट घटनाको पछाडि आर्थिक लेनदेन र विप्लव समूहसँगको कनेक्सन भित्र भित्र नै जोडिएको देखिएको हुँदा विभिन्न एन्गलबाट सूक्ष्म अनुसन्धान थालिएको बताए ।
पक्राउ परेकी सीता महरा प्रतिबन्धित बिप्लव समूहसँग आबद्ध रहेकाले आफूले लिएको रकम ब्याज र साबा सहित फर्काउन नपरोस भनेर उनले राजेश विरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरी आशंका छ ।