रौतहट —प्रतिनिधिसभाका निलम्बित सांसद अफताब आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय रौतहटले गरेको छ। कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको आरोपपत्रमा विभिन्न मुद्दामा गरी कुल ४५ वर्ष कैद सजाय माग गरेको हो।
आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकीर सरकारी वकिलको कार्यालयले गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको छ। त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाई महताब आलम, सहयोगीहरु मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिबादी बनाइएको छ।
८ सय पृष्ठको आरोपपत्र
आलमविरुद्ध सरकारी वकिल कार्यालयले ८ सय पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ। आरोपत्रपमा तत्कालीन समयमा गरेको अनुसन्धानदेखि सर्वोच्च अदालतमा दायर भएका दुई मुद्दाको कुरा समावेश भएको छ। सरकारी वकिलको कार्यालयले पेश गरेको अभियोगपत्रमा घटनास्थलमा भेटिएको स्विटर, लासका टुक्रा र घटनाको मुचुल्का समेतलाई आरोपपत्रले समेटेको छ। घटनाको समयमा देख्न एक प्रतिवादीले तत्कालीन समयमा गरेको बयानलाई पनि आरोपपत्रमा समावेश गरिएको छ। आरोपपत्रमा आलमले निर्दयी रुपमा मानिस मारेको जिकीर आरोपपत्रमा गरिएको छ।
गत असोज २६ गते पक्राउ परेका आलमलाई २० दिनसम्म नियन्त्रणमा राखेर जिल्ला प्रहरी कार्यालयले घटनाको तहगत अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आठ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिललाई बुझाएको थियो। सोही अनुसन्धान प्रतिवेदनको आधारमा सोमबार आलमसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटुवालले जनाए। आलमबाहेक १० जना फरार छन्।
रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वा्चित नेपाली कांग्रेसका नेता आलम २०६४ चैत २७ गते बम विष्फोटमा घाइते भएका २ नेपालीसमेत करिब २ दर्जन युवालाई जिउँदै इँटाभट्टीमा झोंसेर जलाएको अभियोगमा गत असोज २६ गते पक्राउ परेका हुन्। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विष्फोटन पदार्थसम्बन्धी तीन मुद्दा चलाउन रायसहित जिल्ला प्रहरी कार्यालयले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
चैत २७ गते भएको उक्त विष्फोटनमा परी रौतहट, चारुअठाका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको छ। बमको छर्रा लागेर घाइते भएका उनीहरुलाई घटना बाहिरिन नदिन आलमले जिउँदै इँटाभट्टामा हालेर जलाएको भन्दै दुवै परिवारले तत्कालीन समयमै किटानी जाहेरी दर्ता गराएका थिए।