जनकपुर – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको साहित्य महोत्सव आयोजना गरिने भएको छ।
कात्तिक २२ गतेदेखि सुरु हुन लागेको तीन दिवसीय साहित्य महोत्सवमा नेपालका प्रसिद्ध साहित्य, कला तथा राजनीतिकर्मीहरूसँगै भारत लगायत अन्य देशको समेत प्रतिनिधित्व रहने आयोजक समिति सदस्य अजित बरालले जनाएकाेछ।
जनकपुरको मणिमण्डपमा कार्तिक २२गते उद्घाटन हुने बताईएकाे महोत्सवको पहिलो सत्रमा चुरे चिन्ता सम्बन्धी सवालमा पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत सरोकारवालासँग सञ्चारकर्मी चन्द्रकिशोरले बहस गर्नेछन् । उक्त कार्यक्रम सम्पन्न भएसँगै प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीले जानकी मन्दिर परिसरमा जानकी (सीता) को बारेमा प्रवचन दिनेछन् । महोत्सव अन्तर्गत करिब एक दर्जन कार्यक्रमहरु नगरको विभिन्न फरक फरक स्थानमा आयोजना गरिने आयोजक समितिकै सदस्य तथा नेपाल भ्रमण वर्ष अभियानका प्रबर्द्धक मनिष झाले बताए ।
रेलवे स्टेशनमा अर्थतन्त्र र राजनीतिक सवालमा बहस गरिनेछ । नेपालमा जनकपुरमात्र रेलवे स्टेशन भएको सहर रहेको सन्देश दिन त्यहाँ कार्यक्रम राखिएको झाले बताए । त्यस्तै, ‘प्रदेश’ र ‘परदेश’ तथा ‘मधेश’ भन्ने छुट्टाछुट्टै सत्र सञ्चालन गरिनेछ । प्रदेश र परदेश विषयक सत्रमा मुख्यमन्त्री लालबाबु राउत तथा मधेश भन्ने सत्रमा कनकमणि दिक्षित तथा रामदयाल राकेशले बहस सञ्चालन गर्नेछन् । स्वाभिमान, सम्मान र अभिमान विषयक बहस सांसद गगन थापाले प्रदेश २ का सांसद रानी शर्मा तिवारी तथा मुख्यन्यायाधिवक्ता दिपेन्द्र झासँग सञ्चालन गर्नेछन् । महोत्सवमा जनकपुरधाम, राजविराज तथा विरगंजका मेयर र भारत, बिहारस्थित एक ग्राम पञ्चायतका प्रमुख (उत्कृष्ट काम गरेको भन्दै राष्ट्रपतिबाट पुरस्कृत) लगायतलाई पनि आमन्त्रण गरिएको छ ।
साहित्यमा सीमा संवाद शिर्षकमा सीमा वारीपारीको साहित्य सीमा सम्बन्धी चर्चा गरिनेछ । यी बाहेक साहित्य सम्झनाका साथै तीन वटा पुस्तक विमोचन पनि हुने बताइएको छ । मधेशको भोजन र साहित्य सन्दर्भमा चर्चा गर्नुको साथै कविता वाचन लगायत कार्यक्रमले पर्यटन वर्षमा पर्यटक आकर्षित गर्ने अपेक्षा आयोजकको छ ।
करिब ३५ लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको यो महोत्सव बुकवर्म फाउन्डेशनले संयोजन गर्दैछ। नौ वर्ष अघि काठमाडौंमा पहिलो पटक साहित्य महोत्सव आयोजना गरेको यो संस्थाले काठमाडौंमै तीनवटा इभेन्टसँगै पोखरामा पनि महोत्सव आयोजना गरेको थियो । सातौं महोत्सवको रुपमा जनकपुरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रतिनिधि बरालले बताए ।