जनकपुर -धनुषाको नक्टाझिजमा अाज सडक दुर्घटनामा परी पुर्व सांसद राम लखन महतोको निधन भएको छ ।
साविकको घर बटेश्वर गाउँपालिका–१ बाट हालको घर क्षिरेश्वरनाथ नपा ५ महेन्द्रनगर जाने क्रममा जनकपुर–ढल्केवर सडकखण्ड स्थित मिथिला नगरपालिका–१ नक्टाझिज विश्वकर्मा चोकमा शुक्रवार बसले ठक्कर दिँदा उनको निधन भएको हो ।
शैक्षिक भ्रमणकालागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा साइकलमा सबार ६२ वर्षीय नेता महतोलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । पोष्टमार्टमकालागि अहिले उनको शव जनकपुर अंचल अस्पतालमा राखिएको छ ।
२०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनावमा निर्वाचित भएका थिए। उनी अहिले मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए । उनको एक छोरा र एक छोरी छन् । ठक्कर दिएका बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।