अजयकुमार साह
धनुषा १४गते कार्तिक
जनकपुर सहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्र रुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीय छठको तयारीमा जुटेका छन् ।
यति खेर बजारमा छठमा प्रयोग हुने बाँसको चंगेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, केरा लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड लागेको देखिन्छ ।
प्रदेश २ का राजधानी जनकपुर सहितका सबै जिल्लाका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा प्रयोग हुने अन्य सामानको खरिदबिक्री धमाधम भइरहेको छ ।
छठमा प्रयोग हुने सामानहरू कतिपय व्यापारीले टायरगाँडा मै राखेर गाउँघरमा बेचिरहेका छन् । यस्ता सामग्रीले भरिभराउ बनेका बजारले छठको रौनक बढेको स्थानीयको भनाइ छ ।
जनकपुर उपमहानगरपालिका शैलेस दासले भन्नुभयो, ‘बजारमा यति बेला जताततै छठकै सामग्रीले भरिभराउ देखिएको छ,’ उहाँले थप्नुभयो, ‘यही सामान किन्न बजारमा चहलपहल बढेको छ, यसले छठको रौनक पनि बढाएको छ ।’
बजारमा छठ पूजामा प्रयोग हुने सामग्री सँगै खाद्यान्न, फलफूल र लत्ताकपडा किन्नेको पनि भीड बढेको छ ।
तराई मधेसमा छठ पर्वलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिन्छ । त्यही भएर छठको आगमनसँगै व्यापार बढेको व्यवसायीहरू बताउँछन् । ‘अरू बेलाभन्दा छठ पर्वका बेला बिक्री बढी हुन्छ,’ जनकपुरका एक रेडीमेट कपडा पसलका संचालक निरञ्जन साहले भन्नुभयो, ‘छठ पर्व हामी व्यापारीहरूका लागि पनि ठूलो उत्सव हो, यति बेला हामीलाई भ्याइनभ्याइ छ ।’
त्यसैगरी सीमावर्ती बजार मधवापुर, सुरसन्ड, भीट्ठामोड, जयनगर, बासोपट्टीमा पनि छठ सामग्री खरिद गर्न नेपालीको घुइँचो लागेको छ । खासगरी भारतीय बजारमा कपडा, लुगाफाटा, तेल, चिन्नीको नेपालको बजारमा निकै सस्तो पाइने भएको हुँदा नेपालीहरु सीमावर्ती बजारबाट खरिद गर्न पुग्ने गर्दछन् ।
छठ पर्वको लागि अहिले बजार भाउ केहि महंगिएको उपभोक्ताहरु बताउँछन् । जनकपुरको मुरली चोकमा छठ पर्वको लागि सामग्री खरिद गर्न पुगेका अशोक झाले छठ पर्वमा पूजाको लागि चाहिने केरा देखि कागती सम्मको भाउ बढेको सुनाउनुभयो । उहाँले अरु बेला ५ रुपैयाँ गोटाले पाउने कागती अहिले २० रुपैयाँ गोटा भन्दा कममा पाउन मुश्किल भएको बताउनुभयो ।
छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि बेलुकासम्म बजारमा व्रतालुको भीड निकै नै बढेको छ ।
छठ पर्वमा चाहिने आवश्यक सामग्री केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, केराउ, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवालगायत खरिद गर्नेको संख्या उल्लेख्य छ।
अहिले केरा घरिको ४०० देखि १००० सम्म विक्री भएको व्यापारीहरु बताउँछन्। साथै उखु जोडाको ८० रुपैयाँमा विक्री भएको व्यापारीको भनाइ छ।
छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा अहिले बजारमा केराको अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।
मंगलवार देखि बजारमा लाखौ रुपैयाको केराको व्यापार भएको फलफूल व्यवसायी हनुमान प्रसाद साहले बताउनुभयो । उहाँले विगतको तुलनामा यस बर्ष केराको मुल्यमा अत्याधिक बृद्धि भएको बताउनुभयो ।
जनकपुरका फलफूल व्यवसायी नबिन साहले बजारमा माग अनुसार आपूर्ति नभएकोले केराको मुल्यमा हवात्तै बृद्धि भएको एक उपभोक्ता संजीप साहले बताउनुभयो ।
प्रायजसो सबै बजारहरुमा अहिले केराकोे खरिद बिक्रि गर्नेको ठुलै भिड लागेको देखिन्छ । स्थानिय बजारमा केराको माँग बढेपछि स्थानिय किसानहरुले लगाएको केरा बजारमा ल्याउने क्रम समेत जारी रहेको छ भने मुलुकको विभिन्न ठाउँहरुमा जहाँ केराको खेती गरीन्छ, त्यहाँका केराले पनि बजार आपूर्ति गर्र्न सक्दा भारतको आसाम, हाजिपुर, दरभंगा, पटना लगायतका ठाउँहरुमा केरा मगाएको जीवन फलफूल सेन्टरका संचालक जिवन साहले बताउनुभयो ।
तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मुल्य आकासिएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताउनुभयो । गत बर्षको तुलनामा यस बर्ष केराको मुल्य करिब ३० देखि ४० प्रतिशत बृद्धि भएको छ ।
त्यसैगरी छठ पर्वका लागि यहाँका जलाशय तथा घाटहरूमा सरसफाइ तथा सजावटको काम सुरु भइसकेको छ । यहाँका नदी तथा पोखरीमा टेन्ट लगाएर सजावटको काम जोडतोडले भइरहेको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।
जनकपुरको मुख्य मुख्य चोकहरु आकर्षक प्रवेश द्वारहरु निर्माण गरिएकोछ ।
अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर लोकगीतले सारा जनकपुर, मिथिलाञ्चल लगायत तराई मधेश नै अहिले छठमय उल्लास वातावरणमा डुबेको छ ।
रोजगारीका लागि भारत लगायत अन्य मुलुक गएकाहरू पनि छठ पर्व मान्न गाउँ फर्किरहेका छन् ।
दसैं र तिहारमा गाउँ आउन नसक्नेहरू पनि छठमा घर फर्किरहेका छन् । रोजगारीका कारण अरू बेला सुनसान जस्तै बनेका गाउँघरमा यति बेला चहलपहल बढेको छ ।
छठ पर्व आज बुधवारदेखि विधिवत रुपमा सुरु भएको छ । आज ब्रतालु महिलाहरु नुहाएर मात्र खाएका छन, जसलाई नहा खाय भनिन्छ । यसै दिन व्रतालुले छठ पर्व गर्ने भनेर संकल्प लिन्छन् । यसको भोलिपल्ट अर्थात् विहिवार दिनभरि व्रतालु महिला निराहार बसेर साँझ प्रसाद चढाउने गर्छन् । यो दिनलाई खरना भनिन्छ ।
शनिवार बिहानदेखि पर्वमा प्रयोग हुने विभिन्न किसिमका पकवानहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ दिने चलन छ, यसलाई संझियाघाट भनिन्छ ।
रातभरि पूजापाठ गरेर आईतवार उदाउँदो सूर्यको अघ्र्य दिएर छठ पर्वको समापन हुन्छ । छठ पर्व व्रतालु महिला सहित घरका अन्य सदस्यले निष्ठापूर्वक मनाउने चलन छ ।
छठ पर्वमा बनाउने प्रसाद ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ।
तस्बीरहरु ः अजयकुमार साह
१. छठ पर्व तथा पर्यटन वर्ष शुभारम्भको अवसरमा जनकपुरमा वृहत सरसफाई सम्पन्नः प्रदेश २ को राजधानी जनकपुरमा आज गरिएको सरसफाईमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई , प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन मन्त्री राम नरेश राय, जनकपुर उपमहानगरपालिकाको मेयर लाल किशोर साह लगायत हुँदै ।
२. तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारी र किनमेलमा जुटेका छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा लागेको घुइँचो ।
३. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा रेडिमेड लुगाको पसल देखि किरानाका पसलहरु खरिदबिक्री गर्नेको देखिएको भीड भाड।
४.छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रसादको रुपमा चढाउने सिंगै घरी किन्नेको भीडभाड ।
५. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रसादको रुपमा चढाउने पानीमा फल्ने सिंगारा फल बेच्दै स्थानीय महिलाहरु ।
६. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रसादको रुपमा चढाउने भोगटे (मैथिलीमा भनिने ताब नेमो) बेच्दै एक व्यवासायी ।
७. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रसादको रुपमा चढाउने सिंगो उखु खरिद बिक्री गरिंदै ।
८. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रयोग गरिने बाँसको चंगेरा (दाउरी), सुप (नाङ्लो), डाला, सुपली, लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड।
९. छठ पर्वको लागि किनमेल गर्दै स्थानीय ः जनकपुरको बजारमा छठपर्वमा प्रयोग गरिने माटाका भाडाहरु घैला, हात्ती, दियो, ढकनी लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड। तस्बीर ःअजयकुमार साह रासस धनुषा प्रदेश २
१०. छठ पर्वको लागि केराको घरी किनेर लादै ब्रतालु महिलाहरु ।
११. छठ पर्वका लागि जनकपुरका जलाशय तथा घाटहरूमा सरसफाइ तथा सजावटको काम सुरु ः छठ पर्वको लागि जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।
१२. जनकपुरको मुख्य मुख्य चोकहरु छठ पर्वको लागि निर्माण गरिएको आकर्षक प्रवेश द्वारहरु ः