महेन्द्रनगर (धनुषा)- दसैं पर्वको सुखद अवसरमा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा नगरकाे मुख्य बजार केन्द्र महेन्द्रनगरमा पहिलो पल्ट आयोजना गरिएको एक हप्ते सस्तो बजार सम्पन्न भएको छ ।
घटस्थापनाको दिन सुरु भएर अष्ठमीसम्म सञ्चालन भएको उक्त बजारमा करिब ३ करोड माथिकाे काराेबार भएको संघले जनाएको छ । जैसीबाबा धर्मशाला भवनको भित्र र टेन्ट लगाएर बाहिर गरी करिब ३८ स्टलमा प्रत्येक स्टलबाट दैनिक ४ देखि ५ लाखको कारोबारभएको व्यापारीहरु बताउँछन् ।
क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र जिल्ला सम्नव्य समिति धनुषाका अध्यक्ष रामदेव यादव वनरैतको प्रमुख आतिथ्यमा बजारको आज आयाेजित समापन समारोहमा स्थानीय विभिन्न व्यक्तित्वहरुलाइ कदर पत्र सहित सम्मान समेत गरीएकाे थियाे ।
जनकपुर पछिको दाेश्रो ठूलो शहरको रुपमा रहेको महेन्द्रनगरमा पहिलो पल्ट आयोजना गरिएको सस्तो बजार सोचेको भन्दा बढी विक्रि वितरण गर्न सफल भएको बताइएको छ ।
धनुषाको सदरमुकाम जनकपुरमा प्रत्येक बर्ष दशैंमा लाग्दै आएको सस्तो बजार (दशैं बजार) यस बर्ष महेन्द्रनगरमा लाग्दा उपभोक्ताहरु हर्षित हुनुको साथै व्यापारीहरु निकै उत्साहित देखिए ।
संघका अध्यक्ष सुरेश प्रसाद यादवले पहिलो पल्ट आयोजना गरिएको यो बजारमा सुरुमा केही समस्या देखेपनि हाम्रो व्यापार संघका प्रतिनिधि , स्थानिय मिडिया, राजनितिकर्मी र बुद्धिजिवीहरुको साथ र सहयोगले हामी सफल भएको र आउने दिनमा यो भन्दा पनि भव्य तरिकाले आयोजना हुने प्रतिवद्धता व्यक्त गरे ।