जनकपुर- मिथिलाञ्चलका महिलाहरुको प्रमुख पर्व जितिया (दसैंको आसपासमा थारुजातिका नवयुवती र अधबैँसे स्त्रीहरुले माइतमा गएर घिरौँलाको पातमा घिरौंलाकै फूला राखेर गर्ने ‘जित महान्’को पूजा) आजबाट सुरु भएको छ । खासगरी पुत्रको दीर्घायुको लागि यो पर्वमा महिलाहरु अष्टमी तिथिभरी व्रत बस्ने गर्दछन् ।
शुक्रबार जनकपुरधामको प्रमुख तलाउहरुमा महिलाहरुले नुहाइ जिम मुहान् भगवानको पूजा गरेका छन् । पूजा गर्नेहरुको जनकपुरधामको गंगा सागर र धनुषा सागरमा भीड लागेको थियो । करिब चालिस वर्षदेखि लगातार पूजा गर्दै आएकी जानकी देवीले भनिन्, ‘हाम्रा लागि यो महत्त्वपूर्ण पर्व हो, छोराको दीघार्यूको लागि व्रत बसेकी हुँ ।’आजको तिथिलाई महिलाहरुले ‘नहाएखाए’ भन्ने गर्छन् जसका अर्थ ‘चोखो हुनु’ भन्ने हो । यस दिन व्रतालुले नदीमा स्नान गरी घिरौँलाको पातमा तोरी वा सूर्यमुखी तेल र पिना (खरी) चढाएर जित महान् देवताको पूजा गर्दछन् जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।
सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ ।संस्कृतमा ’जीवित पुत्रिका’, हिन्दीमा जियतिया र मैथिली महिलाहरू ’जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ ।
यो पर्व अश्विनको (अष्ठमी तिथिको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रका लागि व्रत बस्ने गर्दछन् । महिलाहरु ’निर्जला’ अर्थात् पानीसमेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ’जीत महान् गोसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।