जनकपुर-जवीरगञ्जमा एसिड आक्रमणमा परी घाइते मुस्कान खातुनलाई भेट्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उनी उपचारार्थ अस्पताल पुगेका छन्।
एसिड आक्रमण पीडित खातुन र उनका आमाबुवालाई भेट्न मुख्यमन्त्री राउत अस्पताल पुगेका हुन्। मुख्यमन्त्री राउतसहित, पर्सा क्षेत्र न. १ का सांसद प्रदीप यादव र प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा मुस्कानलाई भेट्न कीर्तिपुरस्थित ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’पुगेका थिए।
मुख्यमन्त्री राउत र सांसद यादवले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिए।
अस्पताल पुगेर मुख्यमन्त्री राउतले खातुनको उपचारको लागि प्रदेश सरकारले कुनै कमी हुन नदिने बताए। प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाइरहेको भन्दै उनले खातुनको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताए।
प्रदेश सरकारले तत्काल ५ लाख उपलब्ध गराएको बताउँदै उनले उपचारमा कुनै किसिमको कमी हुन नदिन अस्पताल व्यवस्थापनसँग आग्रह गरे। ‘५ लाखभन्दा बढी लागे पनि हामी तिर्छौं,’ मुख्यमन्त्री राउतले भने, ‘तर उपचारमा कुनै समस्या नहोस्।’
मुख्यमन्त्री राउतले उपचार खर्च व्यहोर्ने लिखित पत्र आफ्नो कार्यालयबाट अस्पतालमा पठाउन लगाएका थिए। उनले मुस्कानका परिवारसँग एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्वता समेत जनाएका छन्।
शुक्रबार बिहान करिब ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमान सिंहचोकमा स्कुल गइरहेको बेला खातुनमाथि एसिड प्रहार गरेका थिए।
रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुनलाई एसिड आक्रमण गर्नेलाई प्रहरी पक्राउ गरिसकेको छ।
यसैबीच सामाजिक अभियन्ता बिटू मिश्रले खातुनको उपचारको लागि संकलन गरेको ३९ हजार २ सय ८८ रुपैयाँ मुस्कानको परिवारलाई हस्तान्तरण गरेका छन्। मिश्रले काठमाडौंमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको उक्त रकम मुस्कानको परिवारलाई हस्तान्तरण गरिएको बताए।