काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने नगदै ५ लाख धरौटी लिई रिहा भएका छन्।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। लामिछानेले नगद ५ लाख बुझाएका हुन्।
नर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन्। पत्रकार युवराज कँडेल पनि ३ लाख धरौटीमा रिहा हुँदैछन्।
सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो।
मुद्दा दायर गरिएसँगै आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो फैसला गरेको हो। उनीहरुलाई हदैसम्मको अर्थात् ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए।
लामिछानेसहित तीनै जनाको बैंक खाता खोज्न राष्ट्र बैंकलाई परिपत्र
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक खाता खोज्न भन्दै प्रहरीले राष्ट्र बैंकलाई परिपत्र गरेको छ।
आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो। अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट गएको एसपी दीपक रेग्मीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत बैंक खाता विवरण माग गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको हो।
यसबारे जानकारी दिँदै एसपी रेग्मीले नेपाल लाइभसँग भने, ‘हामीले आरोपीहरु तीनै जनाको बैंक स्टेटमेन्ट माग्दै राष्ट्र बैंकलाई पत्र लेखेका छौं। अहिलेसम्म स्टेटमेन्ट आइसकेको छैन।’
आत्महत्या गर्नुअघि पुडासैनीले विभिन्न व्यापारीहरुबाट रविले मोटो रकम उठाउने गरेको आरोप लगाएका थिए।
गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उनले मर्नुअघि आफ्नो मोबाइलमा एक भिडियो बनाउँदै आत्महत्या गर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्की मुख्य रहेको बताएका थिए।