बर्दिबास/अजयकुमार साह
महोत्तरीको बर्दिबासमा सुपारी दिएर श्रीमतिद्वारा श्रीमानको हत्या गराएको घटनामा संलग्न चारजनालाई पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको छ।
श्रीमतिले पेसेर अपराधी प्रयोग गरेर श्रीमानको हत्या गराएको रहस्य शुक्रवार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम कृष्ण अधिकारीले बताए ।
बर्दिबास नगरपालिका–३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवन थापालाई श्रीमति पूजा थापाले सुपारी दिएर हत्या गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी अधिकारीले जनाए ।
गतअसार ३१ गते सरोजको हत्या गरेर शव फालेको अवस्थामा विपि राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३, स्मृतिपार्क नजिकै फेला परेको थियो । पूजाले श्रीमान्को हत्या गराउन आफ्नै बहिनी मार्फत पेसेवर अपराधी बोलाएर हत्या गराएका अनुसन्धानको क्रममा देखिएको एसपी अधिकारीले बताए ।
हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सर्वाजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका– ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा– २ बस्ने २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरी टोलका ३३ बर्षीय जिला भनिने श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनी रहेका एसपी अधिकारीले बताए ।
सरोजलाई हत्या गर्न उनकी श्रीमति साँढे चार लाख दिएर आफ्नी बहिनी मार्फत हत्या गराएको बताइएको छ ।
यद्यपी घटना बारे थप अनुसन्धान हुँदैछ घटनामा संलग्नहरु अरु पनि छन्। सरोजको हत्यामा करिब एक दर्जन विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन्। आरोपी पूजा भने फरार छिन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले महिना दिनदेखि सरोज हत्याको अनुसन्धान गरिरहेका थिए।
फरारहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
घटना यस्तो थियो
गत असार ३१ गते राती साढे १० बजेको समयमा वर्दिवास नगरपालिका ३ गौरीडाडाका ३६ वर्षीय सरोज भनिने श्रवण कुमार थापाको स्थानिय विपी राजमार्ग अन्र्तगत वर्दिवास ३ स्थित स्मृति पार्क नजिकै वेहोश अवस्थामा भेटिएका थिए । एउटा स्कुटी र एकजना मानिस लडी रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा खटी गई हेर्दा प्रदेश २–०२–००१ प ३०५४ नम्बरको स्कुटी लडी रहेको प्रहरीले फेला पारे । प्रहरीले थापालाई तत्काल उपचारको लागि वर्दिवास स्थित शुभस्वसतिक अस्पतालमा ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
शुरुमा सो घटनालाई प्रहरीले सवारी दुर्घटनाको रुपमा लिएता पनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले मृतक थापालाई हत्या गरि फालिएको प्रहरीले अनुसन्धान क्रममा फेला परेको देखेपछि अनुसन्धान अघि बढाए ।
पोष्टमार्टमा रिपोर्टमा मृत्युको कारण टाउँको गम्भिर चोट दुई ठाउँमा देखिएको र पछाडी पट्टीको चोटको कारण मृत्यु भएको रिपोर्टमा देखिएपछि प्रहरीले गम्भिरता पूर्वक हत्याको घटना हो भनेर अनुसन्धान सुरु गरेको एसपी श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी)को टोली लगायत विभिन्न ४ वटा प्रहरीको अुसन्धान टोलीकोे उनीहरुलाई समाजिक संजालमा गरिएको कुराकानीको आधारमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए
समाजिक संजालमा पैसाको लेनदेन सम्बन्धमा भएको कुराकानी तथा घटना भएको दिन ५ जना (अहिले पक्राउ परेका ४ सहित) को मोबाइल लोकेसनको आधारमा लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीको अनुसार थापालाई हत्या गर्नका लागि २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अनुसन्धानको क्रममा अभियुक्तले स्वीकार गरेको बताए ।
केही दिन अगाडि मात्र ७० लाखमा जग्गा विक्री गरिएको र सोही रकमको विषयमा विवाद उग्ररुप लिएपछि उनको (मृतक) घरपरिवारले नै हत्या गराईएको हुनसक्ने स्थानियहरुले आशंका गर्दै आएका छन् ।
हत्या घटनाको योजना बुन्ने मृतक थापाका आफन्तभने अझै फरार छन् । मृतकका को को आफन्त योजनामा सामेल छन् भन्नेचाँही प्रहरीले सार्वजनिक गरेन् । यद्यपी थापाकी पत्नी पूजा थापा र ससुराली घरका आफन्त (साली र सासु) सामेल रहेका प्रहरी उपरीक्षक अधिकारीले बताए ।
जग्गा बिक्री गरेर थापाले मोटो रकम बैंकमा राखेका थाहा पाएका ससुरालीपक्षका आफन्तले उनको हत्यापछि सो रकम पत्नी पूजाले निकाल्न पाउने आसमा हत्या योजना बुनेका हुन सक्ने प्रहरीले जनाएको छ ।
थापाको ससुराली घर छिमेक कै धनुषा जिल्लाको मिथिला नगरपालिकाको बाहुनमारा हो । थापाको घर र ससुराली घरको दुरी सात किलोमीटर रहेको छ ।
प्रहरीले घटनाका दोषी सार्वजनिक गर्दैछ भन्ने थाहा पाएपछि बर्दिवास–३ गौरीडाँडाका सर्वसाधारण र मृतक थापाका घरतर्फका आफन्त ठूलो संख्यामा उपस्थित भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख नै सहभागी रहनु भएको अभियुक्त सार्वजनिक गर्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले घटनामा संलग्न सबैलाई पक्राउ गरिने प्रतिबद्धता जनाए ।
सार्वजनिक गर्ने क्रममा मृतकमा आफन्त तथा नातेदारले पक्राउ परेका अभियुक्तलाई मास्क खोलेर देखाइयोस् भनेर केहि बेर होहल्ला नै मचाएका थिए । सो क्रममा तिनिहरुले आरोपीहरुलाई हामीलाई जिम्मा लगा भनेर प्रदर्शन नै गरेका थिए ।
यद्यपी प्रहरीको प्रतिबद्धता पछि भीड शान्त भएको थियो ।