
यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडी काँचका हरिया चुरामा सजिएको देख्न पाइन्छ
अजयकुमार साह
जनकपुर, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाईन् ।
मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिईन् । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरामा सजिएको देख्न पाइन्छ । साउन लागे लगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ ।
महेन्द्रनगरको एक चुरा पसलमा भेटिएकी मनिषाले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताएका छन् । आफ्नो नाडीको चुरा खेलाउँदै उनले ‘खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाए’ भनिन् । उनले हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको उनको भनाइ छ ।
कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन् । कहिल्यै हरियो चुरा नलगाउने युवतीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मख्ख छन् ।
महेन्द्रनगर स्थित मीना शृंगार पसलका प्रोप्राइटर मीना देवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताईन ।
यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ ।
साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको ढल्केवरकी पवित्रा शर्माको भनाइ छ ।
त्यसैगरी महेन्द्रनगरकी नेहा कर्णले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै र हरियो चुरा र मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताईन् । परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी र चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्, उनले भनिन्,‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन ।’
साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारका पसलमा चुरापोते अनि हरियो, राता, पहेँला बस्त्र खरिदकर्ताका भीडले व्यापार बढिरहेको देखिन्छ ।
व्रत, चुरा–पोते र मेहन्दी सधैंको वर्ष झैं साउन महिना लागेदेखि हरियो चुरा र मेहेन्दीमा सजिएका नेपाली महिलाहरु देखिन थालेका छन् ।
विवाहित महिलाले गलामा पोते पनि लगाउँछन् । यस महिनाको सोमबार सबै शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाहरुले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् ।
जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा झा पनि साउन महिनाको पहिलो दिन देखि नै हातमा हरियो चुुरा, मेहेन्दी र राता कुर्था सुरुवालमा सजिएर हिँड्न थालेकी बताईन् । उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदीमा छन् । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्ने योजना बनाएकी छिन् । उनले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिएकी छन् ।
साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका महिला ट्राफिक प्रहरी समेतले हरियो चुरा लगाउने गरेका छन् ।विवाहित, अविवाहित कोहीभन्दा कोही कम छैनन् । स्कुल पढ्नेदेखि कलेजसम्मकालाई साउन लागेको छ । कस्मेटिक पसलहरूमा पनि चुरा, पोते किन्ने महिलाहरूको भीड बढेको पाइन्छ ।
यस्तो चलनले चुरा व्यापारीहरू समेत लाभान्वित भएका छन् । ब्युटिपार्लरमा पनि मेहेन्दी लगाउनेको चाप बढेको बढ्यै छ । साउन प्राकृतिक रूपले नै हरियाली भएकाले युवतीहरूले यो रङ लगाउँदा तादात्प्य मिलेको देखिन्छ ।
हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ । चुरा, पोतेको फेसन नै बनेको छ । साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको देखिन्छ ।
यो महिनामा भगवान् शिवजीको प्यारो महिना भनेर चिनिन्छ । हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा मन आनन्द आउने र रमाइलो हुने महिलाहरू बताउँछन् । आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागी र माया ममता प्रगाढ होस् भनेर सोमबारको व्रत बस्ने विश्वास गरिन्छ । यो एउटा आस्था पनि हो । सबै हिन्दु नारीको साउन महिना विशेष चाड बन्न पुगेको छ ।
कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका छन् । यो हाम्रो समाजको विकृति हो । नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । आफ्नो रीतिरिवाज र परम्परालाई जोगाइ राख्नु उचित हो, तर आफ्नो हैसिएत नै बिर्सिएर देखासेखीमा लाग्नु भने उचित हुँदैन ।
एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरु पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन् । यसलाई बजारीकरणको रुपमा पनि लिन सकिन्छ ।
हरियो चुरा र मेहन्दीमा करिब ५० करोड नेपाली रूपैयाँ विदेशिन्छ
हाम्रा दिदी बहिनीहरूले लगाउने चुरा अनि मेहन्दी छ, त्यो नेपालमा उत्पादन हुँदैन ।
सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन् । जुन हरियो चुरा र मेहन्दी छ, त्यसको मूल्य कमसेकम पनि ५० रूपैयाँभन्दा बढी नै हुन्छ । अहिले नेपालमा महिलाहरूको जनसंख्या १ करोड ५० लाखभन्दा बढी छ । १ करोड महिलाले मात्रै साउन महिनामा हरियो चुरा र मेहन्दी लगाए भने पनि करिब करिब ५० करोड नेपाली रूपैयाँ विदेशिन्छ ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै आएको हो ।
फेसनको रुपमा हरियो चुरा र मेहन्दी
पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
पहिले गाउँघरमा मेहन्दी पाईंदैनथियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ ।
साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ आदि आदि विश्वास छ तर हरियो चुरा र मेहन्दी लगाउँदा घर–परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ भन्ने कुरा गलत हो । यो त अर्काको नक्कल गर्ने काम हो ।
पौराणिक मान्यता
पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।
साउनमा हरियो पहिरदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । साउनमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णु समेत प्रसन्न हुनेछन् ।
हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि बेडरुमको दक्षिण पूर्वी हिस्सामा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
किन लगाउँछन् हरियो?
पण्डीत लालबाबु झाका अनुसार हरियो रंग सौभाग्यको रंग हो । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यसका कारण शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर पनि हो । जसका कारण यो महिनामा हरियो रंगका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो । जसका कारण प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने गर्छ ।
शास्त्रमा प्रकृतिलाई इश्वरको रुपमा लिइन्छ । जसका कारण प्रकृतिको पूजा गरिने गरेको छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयू समेत बढ्छ ।
संस्कृतिविद् रमापति चौधरीको अनुसार हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । उनले यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको बताए । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन भने छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ ।
सम्पन्नता
हरियो रंग बुद्ध ग्रहको प्रतिक हो । बुद्ध ग्रह भविष्य तथा व्यापारसँग जोडिएको हुन्छ । यस्तोमा हरियो रंग लगाउँदा मन प्रसन्नता हुन्छ भने घरमा सम्पन्नता छाउँछ ।