भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को कीर्तिमान रचेका छन्। इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्कप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजसँग जारी खेलमा ३७ रन बनाएपछि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान रचेका हुन्।
यसअघि भारतीय टोलीका पूर्व कप्तान सचिन तेन्दुलकर र वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले ४ सय ५३ इनिङमा यो सफलता हात पारेका थिए। कोहलीले टेष्ट, एकदिवसीय र टी–२० गरी सर्वाधिक छिटो २० हजार रन पूरा गरेका हुन्। कोहलीले ४ सय १७ इनिङमा यो सफलता हात पारे।
कोहलीले हालसम्म ७७ टेष्ट १ सय ३१ इनिङ, २ सय ३१ एकदिवसीय खेलमा २ सय २३ तथा ६७ टी–२० मा ६२ इनिङमा ब्याटिङ गरेका छन्। कोहलीले टेष्टमा ६ हजार ६ सय १३, एकदिवसीयमा ११ हजार १ सय ३१ र टी–२० मा २ हजार २ सय ६३ रन बनाएका छन्।
योसँगै कोहली २० हजार रन पूरा गर्ने १२ औं खेलाडी समेत बनेका छन्। भारतीय खेलाडीमा भने २० हजार पुरा गर्ने उनी तेस्रो खेलाडी भए। २० हजार रन पुरा गर्ने अर्को खेलाडीमा राहुल द्रविड छन्।
कोहली र धोनीको अर्धशतकमा वेस्ट इन्डिजलाई मध्यम लक्ष्य
इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले वेस्ट इन्डिजलाई जितका लागि २ सय ६९ रनको लक्ष्य दिएको छ।
म्यानचेस्टरमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो। भारतका लागि कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनी अर्धशतकीय इनिङ् खेले। ८२ बलको सामना गरेका कोहलीले ८ चौंकासहित ७२ रनको योगदान दिँदा धोनीले ६१ बलमा ३ चौंका र २ छक्कासहित ५६ रनको योगदान दिए।
ओपनर केएल राहुलले ६४ बलमा ६ चौंकासहित ४८ रन बनाए। त्यस्तै हार्दिक पाण्ड्याले ३८ बलमा ५ चौंकासहित ४६, अर्का ओपनर रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाए। छैटौं विकेटका लागि धोनी र पाण्ड्याले ७० रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए।
वेस्ट इन्डिजका लागि केमर रोचले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै कप्तान जोसन होल्डर र शिल्डन कर्टेलको नाममा समान २–२ विकेट लिए।