आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा भारत सबैभन्दा बढी शतक प्रहार गर्ने टिम बनेको छ।
आइतबार भारतका शिखर धवनले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेसँगै भारत सबैभन्दा बढी शतक प्रहार गर्ने टिम बनेको हो। योसँगै भारतले विश्वकपमा २७ शतक प्रहार गर्यो। यसअघि अघिल्लो खेलमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए।
जारी विश्वकपअघि बढी शतक बनाउने टिमको रेकर्ड अस्ट्रेलियाको नाममा थियो। अस्ट्रेलियाले विश्वकपमा अहिलेसम्म २६ शतक प्रहार गरेको छ। रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेसँगै भारतले अस्ट्रेलियाको रेकर्ड बराबरी गरेको थियो।
विश्वकपमा भारतका लागि सबैभन्दा बढी शतक बनाउने सचिन तेन्दुलरकार हुन्। सचिन समग्र शतक प्रहार गर्ने खेलाडीमा पनि अघि छन्। उनले ६ शतक हिर्काएका थिए।
विश्वकपमा शतक प्रहार गर्ने भारतीय खेलाडी
कपील देव, सुनील गावस्कर, सचिन तेन्दुलकर (६), विनोद काब्ली, राहुल द्रविड (२), सौरभ गांगुली (४), अजय जडेजा, वीरेन्द्र सेहवाग (२), विराट कोहली (२), युवराज सिंह, शिखर धवन (३), सुरेश रैना, रोहित शर्मा (२)
अस्ट्रेलियाविरुद्धको रेकर्डमा रोहितले सचिनलाई पछि पारे
भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले अस्ट्रेलियाविरुद्ध २ हजार रन पूरा गरेका छन्। आइतबार आइसिसी क्रिकेट विश्वकप २०१९ मा अस्ट्रेलियाविरुद्ध ५७ रन बनाएसँगै रोहितले २ हजार रन पूरा गरेका हुन्।
यसअघि रोहित अस्ट्रेलियाविरुद्ध २ हजार रन पूरा गर्न २० रनले टाढा थिए। आइतबार ५७ रन बनाएसँगै अस्ट्रेलियाविरुद्ध छिटो २ हजार रन पूरा गर्ने रेकर्ड बनाएका हुन्।
यसअघि अस्टरेलियाविरुद्ध भारतका सचिन तुन्दुलकर, वेस्ट इन्डिजका भिभियन रिचर्डस र डेसमनड हेन्सले २ हजार रन पूरा गरेका थिए। सचिनले ५१, डेसमन्डले पनि ५१ र भिभियनले ४५ इनिङमा २ हजार रन पूरा गरेका थिए। रोहितले भने आइतबार अस्ट्रेलियाविरुद्ध ३७औं इनिङमा २ हजार रन पूरा गरे।
अस्ट्रेलियाविरुद्ध रोहितले ७ शतक बनाएका छन्। अस्ट्रेलियाविरुद्ध बढि शतक प्रहार गर्ने खेलाडी सचिन हुन्। उनले ९ शतक बनाउदा कप्तान विराट कोहलीले ८ शतक प्रहार गरेका छन्।
धवनको शतकमा भारतले अस्ट्रेलियालाई दियो ३५३ रनको लक्ष्य
आइसिसी क्रिकेट विश्वकप २०१९ मा भारतले अस्ट्रेलियलाई ३५३ रनको लक्ष्य दिएको छ। लन्डनको ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेटको क्षतिमा ३५२ रन जोड्यो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक प्रहार गरे। उनले ११७ रन जोड्न १०९ बल खेलेर १६ चौका हिर्काए। अर्का ओपनर रोहित शर्माले ५७ रन बटुले। दुईबीच १२७ रनको ओपनिङ साझेदारी भएको थियो। कप्तान विराट कोहलीले ८२ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका र २ छक्का हिर्काए।
हार्दिक पाण्ड्या २७ बलमा ४ चौका र ३ छक्को मद्दतमा ४८ रन र महेन्द्रसिंह धोनी १४ बलमा २७ रन जोडेर आउट भए। केएल राहुलले नटआउट ११ रन बनाए।
बलिङमा अस्ट्रेलियाका मार्कोस स्टोइनिसले २ विकेट लिए। पाट कमिङ्ग्स र मिचेल स्टार्कले १–१ विकेट हात पारे।