महेन्द्रनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा प्रदेश २ को बिभिन्न ठाउँमा बम फेला परेको छ । एक ठाउँमा बम बिष्फोट भएको छ भने दुई ठाउँमा फेला परेको बमलाई निष्कृय पारिएको छ ।
प्रदेश २ प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीको बर्दिवास नगरपालिका र रौतहटको चन्द्रंपुर नगरपालिकामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको जनाएको छ ।
बर्दिवास नगरपालिकाको मुल गेटमै र रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा बम फेला परेको थियो । बम फेला परेपछि चन्द्रनिगाहपुरमा करिब२ घण्टा यातायात समेत अवरुद्व भएको थियो ।
प्रदेशका प्रहरी प्रबक्ता डीएसपी दानबहादुर थापाले दुबै ठाउँको बम नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै सर्लाहीको हरिवन नगरपालिकामा आइतबार राति ११ः३० बजेतिर बम बिष्फोट भएको छ । बिष्फोटले पर्खालमा प्वाल परेको र सिसाहरु फुटेको प्रबक्ता थापाले बताए ।
विप्लव नेतृत्वको प्रभाव यसअघि प्रदेश २ मा नदेखिए पनि यस पटक देखिएको छ । बन्दका कारण प्रदेश २ का राजधानी जनकपुरसहितका जिल्लामा आंशिक प्रभाव परेको छ ।
पसलहरु खुला भएपनि लामो दूरीका सबारीसाधन चलेका छैनन् । पूर्व-पश्चिम राजमार्गमा पनि थोरै मात्र गाडी चलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश २ को प्रदेशसभा बैठक स्थगित
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको बन्दका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, बन्दका कारण देखाउँदै बैठक स्थगित गरिएको छ ।
प्रदेशसभाको अर्काे बैठक अब भोलि -मंगलबार) दिउँसो २ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेश २ का अधिकांस सांसद बैठकमा भाग लिन आफ्नो घरबाटै आउने गर्छन् । सप्तरीदेखि पर्सासम्मका सांसदहरु घरबाटै आउनुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।