महेन्द्रनगर- नेपाली राष्ट्रय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतीय महिला लिगको डेब्यू खेलमै ह्याट्रिकसहित ४ गोल गरेकी छन्। सेथु फुटबल क्लबमा आवद्ध सावित्राले मनिपुर पुलिस स्पोर्टस क्लबविरुद्ध ४ गोल गरेकी हुन्।
सो खेलमा मनिपुरमाथि ६–४ को जित निकाल्दै सेथुले विजयी सुरुवात गरेको हो। सावित्राले चारै गोल पहिलो हाफमा गरेकी थिइन्। खेलको २७ औं सेकेन्डमा गोल गर्दै सावित्राले सेथुलाई अग्रता दिलाएकी थिइन्।
सावित्राले १६ औ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन। ३४ औ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेकी सावित्राले पहिलो हाफको इन्जुरी समयमा चौथो गोल थपेकी थिइन्।
सेथुका लागि दिग्माइ ग्रेसले ६५ र ७५ औ मिनेटमा २ गोल गरिन्। मनिपुरका लागि नाङ्गोम बालादेबीले समेत ह्याट्रिक गरिन्। तर उनी टिमलाई जिताउन असफल रहिन्। उनले २२, ४२ र दोस्रो हाफको इन्जुरी समयमा ह्याट्रिक गरेकी थिइन्। थप एक गोल सलाम प्रमोदिनी चानुको नाममा रह्यो। जितसँगै सेथुले तालिकामा ३ अंक जोडेको छ।
यसैबीच ह्याट्रिकसहित ४ गोल गरेकी सावित्रा ‘वुमन अफ दी म्याच’ घोषित भएकी छन्। उनी पहिलो खेलमै ‘वुमन अफ दी म्याच’ चुनिएकी हुन्। ‘प्रतियोगिताको पहिलो खेल सधै महत्वपूर्ण हुन्छ।
जितका साथै प्लेयर अफ द म्याच पाउँदा धेरै खुसी लागेको छ’ सावित्राले खेलपछि भनिन्।आगामी खेलमा अझ धेरै मेहनत गर्दै उच्च प्रर्दशन गर्ने उनको प्रतिबद्वता छ। सेथुले मे ८ मा बेङ्गरुलु युनाइटेड फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ।-एजेन्सी