विराटनगर : मोरङको विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी सर्वसम्मत घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।
स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो ।
प्रदेश सभाको सोमबारको बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए ।
प्रदेश १ मा कुल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ ।
विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो ।
प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।