बेङलोरु बुल्सले भारतको प्रो कबड्डी सिजन ७ का लागि नेपाली खेलाडीद्वय सञ्जय श्रेष्ठ र लालकुमार यादवलाई लिएको छ । मुम्बईमा सोमबार भएको अक्सनको पहिलो दिनबाट बुल्सले सन्जयलाई फिर्ता ल्याउन सफल भएको हो ।

सञ्जयलाई बुल्सले १० लाख भारुमा लिएको हो ।
धनुषा महेन्द्रनगरका यी खेलाडीले आफूलाई बुल्सले लिएको फेसबुकबाट थाहा पाएको जनाए । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियामा हुने कबड्डीको तयारीका लागि प्रदेश २ बाट खेल्न वीरगन्जमा क्याम्पमा रहेका सञ्जयले प्रो कबड्डीमा पहिलो पटक खेल्न पाउने आशा लिए ।
गत वर्ष सञ्जय र लालकुमार यादव दुवै पुनेरु पल्टनमा थिए । दुवैलाई एक सिजनका लागि ८ लाख भारु पारिश्रमिक दिएको थियो । सिराहाका लालकुमार त्रिभुवन आर्मी क्लबका रेडर हुन् । उनको पारिश्रमिकबारे नखुले पनि १० लाख नै हुनसक्ने सन्जयले जनाए । दुवै ‘सी’ श्रेणीमा रहेका थिए । त्यसको अक्सनमा भाउ न्युनतम १० लाख भारु हुन्छ ।
