जनकपुर- प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्ध भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन्। विद्यार्थीको आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुर सहित विभिन्न सहर तनावग्रस्त बनेका छन्। अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्ध गरिएको हो।
परीक्षा रद्ध भएपछि जनकपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन्। परीक्षा रद्ध भएको सूचना लगतै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्।
प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडि नाराबाजी सहित प्रदर्शन गरिरहेका छन्। आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तोडफोड गरेका छन्। आक्रोशित विद्यार्थीको ढुंगा केही सवारीमा समेत क्षति पुगेको छ। आक्रोशित शिक्षामन्त्रीको राजीनामा मागेका छन्।
परीक्षा रद्ध भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन्। आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ। दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन्।
परीक्षा रद्ध विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन्।
प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने :मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन् । उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे ।
प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले त्यसमा केन्द्र सरकार नै जिम्मेवार रहेको बताएका हुन् ।
प्रदेश २ को परीक्षा प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै गरेकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ ।
मुख्य मन्त्री राउतले एसईईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाले यसबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरे ।
‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ’, उनले भने, ‘परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ ।’
संघ सरकारका निकायहरु प्रदेश २ लाई बदनाम गराउन लागि परेको आरोपसमेत राउतले लगाए । ‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन् । शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ’, राउतले असन्तुष्ट व्यक्त गर्दै भने ।
प्रदेश सरकारले प्राविधिक शिक्षाको हब बनाउने नीति लिएकाले त्यसलाई विफल बनाउने योजनाअनुरुप यस्ता गतिविधि भइरहेको दाबी मुख्यमन्त्री राउतले गरे ।
लगातार प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएकाले विद्यार्थीको प्रतिक्रिया स्वभाविक भएको राउतले बताए ।