अजय शाह
किनका के हाथ किनक पिच्कारी
ओ किनका के हाथ अबिर झोरी
हो हो शिब मण्डप पे राम खेललैय होरी
– – – – – –
जोगरीरा सररररर ससररर जोगरी सररररर ससररर
वाह जी वाह वाह जी वाह
कोन फूल किचर मे फूले
कोन फूल आशमान
– – – – – –
कोन गाछ तर ढोलक बाजे
कोन गाछ मन्जिर,
कोन गाछ तर होली खेले रामलखन दोउ वीर जोगिरा सरररर…
– – – – – –
होलीका यस्तै लोक गीत संगित यति खेर सम्पूर्ण जनकपुर सहित सम्पूर्ण मिथलाञ्चल गुञ्जाएमान भएको छ ।
जनकपुर सहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुशी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ । जनकपुरमा आज होली मनाईदैछ ।
अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शुक्रबार होली मनाइदैछ । तराईका केही जिल्लामा होली बिहिबार नै हुने छ । तर जनकपुरधाममा शुक्रबार हुँदै छ ।
जनकपुरधाममा होली चैत ८ गते भएकाले प्रदेश २ सरकारले प्रदेशभरी ७ र ८ गते विदा दिने निर्णय गरेको छ ।
फागुन शुक्ल पक्षको अष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण छन् ।
होलीका गीत मधेशमा फरक–फरक किसिमले गाइन्छ । यस अवसरमा कसैले गाली गर्दा कोही केही मतलव राख्दैनन् तर कतिपय झगडा नै गर्छन् । ज्वाइँहरु प्रायः ससुराली जाँदैनन् किनभने साला–सालीले बढी सताउँछन् ।
हिलो, गोवर, रङ्ग, अविर दल्छन् । अश्लील शब्द प्रयोग गरेर गाली गर्छन् । रमाइलोका नाममा यस्ता क्रियाकलापले महान पर्वलाई दुर्गन्धित बनाएको छ । किनभने यस्ता क्रियाकलाप इच्छा विपरीत पनि हुने गरेका छन् । यो पर्वमा मीठो खाना खानुका साथै पूजआजा पनि गरिन्छ ।
फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुशियाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अंगालो मारी माया–प्रेम बाँड्ने चलन छ ।
दिनभरि झुण्डका झुण्ड भई घरमा गई होली सम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिबल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।
मधेशको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।
होलीको सम्बन्धमा धार्मिक कथन अनुसार कतै हिरण्यकश्यपुकी बहिनी र छोरो प्रह्लादको प्रसंग आउँछ भने कतै कृष्णसँगका प्रसंग आउँछन् । होलीकाले आफ्नो भदा (दाजुको छोरा) प्रह्लादलाई मार्ने नियतले आगोमा बसी जलाउँदा प्रह्लादलाई केहि भएन तर होलीका भने जलेर भष्म भईन् । आगोमा परेर पनि प्रह्लाद बाच्नुलाई असत्यमाथि सत्यको विजय भएको मानिन्छ । आगोको रापमा पनि सत्य डढ्दैन, अन्याय अत्याचारले निरन्तरता पाउन सक्दैन, जतिसुकै बलियो भए पनि कुमार्गमा हिँड्न विनासको भागी हुन्छ भन्ने मान्यता रही आएको छ ।
त्यस्तै त्रेता युगमा भगवान रामचन्द्रले राक्षस प्रबृतिका लंकाका राजा रावणलाई मारी असत्य माथी सत्यको जित हासिल गरेको भन्दै खुशयालीमा उत्सवको रुपमा होली मनाईन्छ त मिथिलान्चलमा भने भगवान रामचन्द्रले आफनो ससुराली जनकपुरमा आई मिथिलानीहरु संग होली खेलेको घटनाको स्मरण गर्दै होली मनाइएको पाईएको छ ।
यसै कारणले गर्दा मिथिलान्चलमा अन्तरगृह परिक्रममाको भोलि पल्ट जनकपुरमा फागु होली मनाउने प्रचलन पनि रहेको छ ।
द्वापर युगमा कृष्णले पुतनाको बध गरेको खुशियालीमा त्यहांका बासिन्दाले होली मनाए । त्यसैगरी, कृष्णले गोपिनीहरुलाई सधैं जिस्क्याएर हैरान गर्ने गर्थे । त्यसकारण गोपिनीहरु असन्तुष्ट एवं दुःखी रहन्थे । वर्षभरि दिएको कष्ट विभिन्न रंगद्वारा हटाउन कृष्णले यो पर्व मनाएको मानिन्छ ।
फागुन महिनामा मौसम परिवर्तन हुन्छ । चिसो मौसमको समाप्ति र गर्मीयामको शुरुआतले छालामा संक्रमण उत्पन्न हुने वैज्ञानिक तर्क छ । त्यस्ता संक्रमणबाट बच्न पनि रङ्ग अविर लगाई होली मनाउने गरिएको छ ।
यसरी हेर्दा होली पर्वले मानव समाजलाई सत्य मार्गमा हिँडाउन प्रेरित गर्ने निरोगी रहने, मिलेर जीवनयापन गर्ने, अत्याचार, अन्यायलाई मानव समाजबाट निर्मुूल गर्ने ऊर्जा दिने गर्छ । यस वास्तविक मर्मलाई बिर्सेर यतिबेला यस पर्वका नाममा कतिपय विकृति विंगति भित्रँदैछन ।
परम्परा सांस्कृति हाम्रा सम्पदा हुन् । सम्पदा संरक्षण गर्नु हाम्रो दायित्व हो । होली मनाएर संस्कृतिको निरन्तरता दिएका छौं तर नयां–नयां विकृति भित्र्याएर समाजलाई दुर्गन्धित समेत बनाएका छौं । अवाञ्छित कार्य गरेर संस्कृतिप्रति विृतष्णा फैलाउँदैछौ । होलीको नाममा पीडा दिंदा पीडितहरु होलीप्रति वितृणा उत्पन्न हुन्छ । रक्सीको उन्मादले कुटपिट एवं झैझगडा भएको देख्नेले होली नमनाउने प्रण गर्न सक्छ । फोहोर पानी हिलोे आदि जीउमा फाल्दा विवाद उत्पन्न हुन्छ ।
फागुन पूर्णिमाको एक दिन अगाडि बेलुका होलीका दहन गर्ने चलन छ । होलीकाको पुतला बनाई गाउँ–गाउँमा जलाउने काम हुन्छ । होलीका दहनपछि होली खेल्न शुरु गरिन्छ । यस चलनलाई सम्मद फुक्ने (डढाउने) पनि भनिन्छ । यो परम्पराको मर्म भनेको असत्यमाथि सत्यको विजय हो । जाँड, रक्सी, भाङ, धतुरो जस्ता नसालु पदार्थ खाएर सडक, नाला आदिमा ढल्ने, यदाकदा ज्यान समेत गएका घटना पाएका छन् । नसालु पदार्थ खाएर मातेको अवस्थामा मायाप्रेम साटासाटभन्दा झगडा, गाली(गलौज गर्ने काम बढी हुने गर्छ । शुद्ध रङ लगाई मनाउनु पर्नेमा गोवर, हिलो, फोहोर, ग्रिज, मोविल एवं रासायनिक पदार्थयुक्त रङ जवर्जस्ती शरीरमा दल्ने कार्यले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ । नसालु पदार्थका कारण ठूलाठूला दुर्घटना हुने गर्छ ।
यस पटक सरकारले अवाञ्छित क्रियाकलापलाई रोक्न सार्वजनिक अपराध सजाँय ऐन अन्तर्गत मुद्दा चलाउने साहस गरेर होली व्यवस्थापनमा सकारात्मक कदम चालेको छ । यस्तो कदमलाई औपचारिकतामा मात्र सीमित प्रभावकारी र निरन्तर गर्नु पर्छ । कडाईका साथ निगरानी राख्नुपर्छ ।
होलीका दिनमा पनि युवतीहरु विना भय बजारमा हिँड्न सके भने होलीको उचित व्यवस्थापन भएको र राज्यको उपस्थिति रहेको पुष्टि हुन्छ । यसबाट सरकारप्रति जनतामा सकारात्मक सोच बढ्छ । होलीप्रति पनि उत्साह उमंग बढ्छ ।
मिथिलाञ्चलमा फागु
यो मदनोत्सव हो। अनि यसमा मानिसहरु मदमत्त हुन्छन। वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन्। यो क्रम फागुन पूर्णिमाको भोलिपल्टसम्म चल्छ।
पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ।
फागुका दिन रङ्ग अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।
पहिले पहिले गाउँघरमा दुध र मसला मिश्रित भाङ तयार हुन्थ्यो। होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे।
होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो। तर अहिले भाङलाई अहिले मदिराले विस्थापित गरेको छ।
रङ्ग, अबिर र धुलो
होली रङ्ग अबिरको पर्व हो। फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ। होलीमा रङ्ग र अबिरसँगै धुलो पनि उडाइन्छ।
प्राध्यापक परमेश्वर कापडीले भन्छन् ‘रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ।’
विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ।
होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सदभाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ।
होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ।
डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन्। उनले भने, ‘होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिएपनि यो कहिलेदेखि फागुमा जोडियो, त्यसको यकिन छैन।’