जनकपुरधाम, चैत ६ ।
मिथिला नाटय कला परिषदको आयोजनामा जनकपुरधाममा प्रत्येक वर्ष हुने महामूर्ख सम्मेलन आज एक समारोहका बीच सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा भएको सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई महामूर्खको उपाधि प्रदान गरिएको छ ।
साहले जनकपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहनुभएको छ । मैथिली भाषा,साहित्य, कला र संस्कृतिको विकासका लागि समेत कार्य गर्दै आउनुभएको छ । व्यंग्यात्मक कार्यक्रम अन्तर्गगत कुनै एक विशिष्ट व्यक्तिलाई प्रत्येक वर्ष यो सम्मान दिने गरिन्छ ।
ो सो महामूर्ख सम्मेलनमा महामूर्खका उपाधी प्राप्त गर्नेलाई विशेष माला पनि लगाइएको थियो । सो समारोहमा, प्रदेश सांसद रामचन्द्र मण्डललाई बैशाखनन्दन, प्रदेश सांसद परमेश्वर साहलाई डपौरशंखको, धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय वरवरिया यादवलाई लोढाशंकर (मुर्ख)को उपाधि प्रदान गरिएको छ ।
यसैगरी मैथिली विकास कोषका संयोजक जीवनाथ चौधरीलाई मुसरी लाल, अवकाशप्राप्त प्राध्यापक परमेश्वर कापरलाई हराशंख, शिक्षक नेता मेघनाथ यादवलाई बज्रकीट, जनकपुर अञ्चल वस व्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीलाई वोतलानन्द,, राजपाका केन्द्रिय प्रवक्ता कृष्णा सिंहलाई बंशकुरहरी, वामपन्थी नेता रोशन जनकपुरीलाई चपाटनन्दन, निर्माण व्यवसायी हिरा भगतलाई खेसारीलाल र साहित्यकार पूनम झा मैथिलीलाई मनतोरिया र सम्झना वर्मालाई जिलेविया मूर्खको उपाधी प्रदान गरिएको छ ।
उपाधि प्राप्त गर्न सफल भएका व्यक्तिलाई बिभिन्न तरकारीसहितको माला पहिर्याइएको थियो भने ब्यंगात्मक तस्वीर सहितको चित्रकला पनि प्रदान गरिएको थियो । महामूर्ख सम्मेलनमा हजारौं दर्शकहरू सहभागी भएका थिए । समारोहमा होलीको गीत एवं व्यंग्यात्मक कवि सम्मेलन भएको थियो ।
जनकपुरमा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२मा एमाले नेता शीतल झा, २०६३मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४मा सदभावना नेता ओमकुमार झा, २०६५मा बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्व मन्त्री एवं नयाँ शक्तिका नेता रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९मा नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७०मा तमलोपाका नेता एवं सांसद डा. विजय कुमार सिंह, २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतो र २०७२मा श्मसान घाटलाई स्वर्गद्वारा बनाएर चर्चा कमाउनु भएका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो । २०७३ सालमा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । भने २०७४ सालमा राजसभा सदस्य एवं राजपा नेता वृषेशचन्द्र लाललाई महामूर्खको उपाधी प्रदान गरिएको थियो ।