जनकपुर-पूर्वराजा ज्ञानेन्द्रलाइ राजावादीहरुले धनुषाको महेन्द्रनगर र सर्लाहीकाे मलंगवामा भव्य स्वागत गरेका छन् ।
हिजा साँझ जनकपुरको सिताशरणा हाेटेलमा बास बसेर महोत्तरीको जलेश्वरबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङको सवारी लावालस्करसहित शाह सदरमुकाम मलंगवा आएका हुन्। सवा ४ बजे मलंगवा आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजा गरे। पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित ठूलो संख्यामा राजावादीहरुको उपस्थिति थियो।
त्यस्तै पूर्वराजालाई हेर्न स्थानीय सयौं सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएर नमस्कार गरिरहेका थिए। पूजालगत्तै शाहलाई मन्दिरबाट उत्तरपूर्व जानकी फेमिली पार्टी प्यालेससम्म झण्डै २ किलोमिटर पैदल यात्रा गराउने कार्यक्रम रहे पनि आधा किलोमिटर हिँडेपछि थकाइ लागेको भन्दै उनी जिप चढेका थिए। उपस्थित राजावादीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘राजतन्त्र जिन्दावाद’, हिन्दूराष्ट्र कायम गर’ भन्दै नारा लगाएका थिए।
स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तँछाडमछाड गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी एवं स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो।
पार्टी प्यालेसमा आधा घण्टा बसेका शाहलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले समेत भेट गरेका थिए।
प्रजिअ पोखरेलले सर्लाहीमा हजुरलाई स्वागत छभन्दा पूर्वराजा शाहले धन्यवाद मात्र भनेका उपस्थित एक सुरक्षाकर्मीले जानकारी दिए। पार्टी प्यालेसमा पूर्वराजा शाहले शाही शासनकालका पूर्वगृहराज्य मन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठलाई मात्र भेट गरेका थिए।
झण्डै सवा घण्टा मलंगवा बसाइपश्चात् शाह पुनः जनकपुरतर्फ लागेका छन्। पूर्वराजाको भ्रमणलाई ध्यान दिँदै सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।