नागपुर– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ४०औं एकदिवसीय शतक प्रहार गरेका छन्।
कोहलीले भारतको नागपुर भइरहेको अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन्। कोहलीले आउट हुनुअघि १२० बलमा ११६ रन जोडेका छन्। त्यक्रममा उनले १० चौका प्रहार गरे।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले कोहलीको शतकसँगै ४८.२ ओभरमा २ सय ५० रनमा अलआउट भयो।
कोहलीको यो समग्रमा ६५औं शतक हो। उनले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरेका छन्। कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीको तेस्रो स्थानमा छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी सचिन तेन्दुल्करले १०० शतक बनाएका थिए। दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका रिकी पोन्टिङले ७१ शतक बनाएका थिए।
मंगलबार बनाएको शतकसँगै विराटले सचिनको रेकर्ड तोडेका छन्। विराट सबैभन्दा कम इनिङमा ४० एकदिवसीय शतक बनाउने खेलाडी बने।
३० वर्षीय कोहलीले २२४ एकदिवसीय खेलमा २१६ इनिङ खेलेर ४० एकदिवसीय शतक पूरा गरे। जबकी सचिनले ३६४ एकदिवसीय खेलमा ४० शतक बनाएका थिए। सचिनले २००६ मा वेस्ट इन्डिजविरुद्ध ४०औं अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए। त्यतिबेला उनको उमेर ३३ वर्षको थियो। एकदिवसीय खेलमा सबैभन्दा बढी ४९ शतक सचिनले २०१२ मा पूरा गरेका थिए। सचिनले ४० बाट ४९ शतक बनाउन ६ वर्ष लगाएका थिए। सचिन ४९ शतक बनाउदा ३९ वर्षका थिए। यता विराट कोहलीले रफ्तारमा शतक प्रहार गरिरहेका छन्। सन् २०१५ पछि विराटनले १८ एकदिवसीय शतक प्रहार गरिसकेका छन्। सन् २०१५ को विश्वकपमा पाकिस्तानविरुद्ध २२औं अन्तर्राष्ट्रिय शतक हिर्काएका विराटनले ४ वर्षमा १८ शतक प्रहार गरेका हुन्। -एजेन्सी