राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि शहीद दुर्गानन्द झाले गरेका बलिदानीलाई स्मरण गर्दै १५ माघका दिन जनकपुरवासीले बलिदानी दिवस मनाउने गरेका छन् । २ सय ४० वर्षसम्म नेपालमा शासन गरेको शाह वंशीय राजतन्त्रको उन्मुलन गर्ने सपना बोकेका दुर्गानन्दको लक्ष ४४ वर्षपछि पूरा भयो ।
नेपाली कांग्रेसको झण्डा बोकेर निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा तत्कालिन राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गर्दा मृत्युदण्ड दिइएका दुर्गानन्द झालाई नेपाली कांग्रेसको शासन सत्ता रहुनजेल कांग्रेसले शहीद घोषणा भने गराउन भने सकेन ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ ली नेतृत्वको सरकारले १ फागुन २०७२ मा राष्ट्रिय शहिद घोषणा गरेपछि दुर्गानन्द झा अब राष्ट्रको शहीद सूचीमा समावेश भएका छन् । १ मंसिर २०७३ मा नेपाल सरकारले शहीद दुर्गानन्द झाको नाममा हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । अहिले आएर कार्यान्वयन भएको छ ।
नेपाली कांग्रेसको झण्डा बोकेर निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा तत्कालिन राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गर्दा मृत्युदण्ड दिइएका दुर्गानन्द झालाई नेपाली कांग्रेसको शासन सत्ता रहुनजेल कांग्रेसले शहीद घोषणा भने गराउन भने सकेन ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १ फागुन २०७२ मा राष्ट्रिय शहिद घोषणा गरेपछि दुर्गानन्द झा अब राष्ट्रको शहीद सूचीमा समावेश भएका छन् । १ मंसिर २०७३ मा नेपाल सरकारले शहीद दुर्गानन्द झाको नाममा हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । अहिले आएर कार्यान्वयन भएको छ ।
को हुन् दुर्गानन्द झा ?
बिक्रम संवत १९९९ साल वैशाख १४ मा दुर्गानन्दको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । पंडित भोलानाथ झाका तीन भाई छोराहरुमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो । आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो ।
घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन १६ बर्षको उमेरमै दुर्गानन्दको काशीदेवी झा सित विवाह भएको थियो । त्यतिबेला काशी देवीको उमेर पनि १४ बर्ष मात्र थियो । एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लागेपछि घरमा एक्लै श्रीमती र आमा पनि वृद्ध भएका कारण पर्याप्त हेरचाह नभएर काशी देवीले आफ्नो गर्भबाट बच्चा त जन्माईन तर दुर्भाग्यवस त्यो बच्चा मृत जन्मेको थियो । शहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन् ।
‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी पत्नी काशीदेवीको सम्झनामा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे ।
तत्कालिन धनुषा महोत्तरीको जटहीभन्दा करिब ३ किमि टाढा रहेको सीमावर्ती भारतको उभगाँव हाइस्कूलमा म्याट्रिकमा अध्ययनरत दुर्गानन्दको अधिक समय राजनीतिमै वित्ने गर्थ्यो । अध्ययनको शिलशिलामा छात्रबासमा बस्ने र बाँकी समय राजनीतिमा वित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाधचोटिभन्दा बढी हुन सकेन ।
दाम्पत्य जीवन शुरु भएको दश महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुप¥यो । पचास वर्षअघिको समाजमा बाल अवस्थादेखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा र तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ । दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीं उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन् ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो । नेपाली कांग्रेसका नेताहरु भारतको उभगाउ, हरलाखी, छतौनी र जयनगरमा निर्वासित भएर क्याम्प चलाईरहेका थिए । उभगाउमा पढिरहेका दुर्गानन्दको सम्पर्क नेपाली कांग्रेसका नेताहरुसँग भएको थियो । उनी नेपाली कांग्रेसका नेता सुवर्णशमशेरको क्याम्पमा थिए । उभगाउमा नेपाली कांग्रेसका नेता रामनारायण मिश्रको क्याम्प संचालन हुँदा सुवर्ण शमशेरको सम्पर्कमा दुर्गानन्द आएका थिए ।
राजा महेन्द्रको सवारीमा बम
२०१८ साल माघ ९ गते रामजानकी विवाहपञ्चमीका दिन राजा महेन्द्रको जनकपुर भ्रमणको कार्यक्रम तय गरिएको थियो । नेपाली कांग्रेसले राजा महेन्द्रमाथि आक्रमण गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार दुर्गानन्द झा, शिवचन्द्र मिश्र र अरविन्द ठाकुरलाई राजा महेन्द्र माथि ग्रिनेट बम प्रहार गर्ने जिम्मेवारी दिएर खटाइएको थियो । अरविन्द ठाकुरलाई जनकपुर विमान स्थल, शिवचन्द्र मिश्रलाई जनकपुरको रंगभुमि मैदान र दुर्गानन्द झालाई जानकी मन्दिरमा बम दिएर कांग्रेसले आक्रमणका लागि परिचालित गरेको थियो ।
अरविन्द ठाकुर जनकपुर विमान स्थलमा नै बम सहित समातिए । ल्याण्ड रोभर गाडीमा राजा महेन्द्र जानकी मन्दिरमा पुगे । जानकी मन्दिरको कम्पाउण्डमा आउने वित्तिकै दुर्गानन्द झाले बम प्रहार गरे । त्यसक्रममा त्यहाँ ठूलो धमाका भयो । बम राजाको गाडीमा लाग्यो । तर बम कसले प्रहार गर्यो कसैलाई थाहा हुन सकेन ।
राजा महेन्द्रलाई कुनै पनि किसिमको क्षति त भएन तर गाडी क्षतिग्रस्त भयो । सयौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुर धामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए ।
निर्दोशलाई यातना दिएपछि आफै गिरफ्तारी
यता नेपालमा बम काण्डको अनुसन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहँु कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो । पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो । बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास भारतको जयनगरबाट रेल चढी नेपाल फर्केर उनले गिरफ्तारी दिए । आफ्नो कारण निर्दोष नागरिकहरुले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिएका थिए ।
राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । तत्कालिन एस.पी. मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेल गाडिबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो ।
गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो । र, पञ्चायत सरकारले उनलाई मृत्युदण्डको सजाय तोकी २०२० साल माघ १५ गते उनलाई फाँसीमा झुन्ड्याइएको थियो । दुर्गानन्दलाई जेलको कारखानामा लगेर रुखमा दुईपटक झुन्ड्याउँदा पनि नमरेपछि गोली हानी हत्या गरिएको थियो ।
फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिईएको थियो । केही बेरको भेटमा उनले आमालाई भने , नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए ।
मृत्यु दण्ड दिइनु अघि दुर्गानन्द झाले जेलमा रहेका साथी अरविन्द ठाकुरलाई चिनोको रुपमा आफ्नो पत्नी काशी देवीलाई दिनका लागि श्रीमदभागवत गीताको पुस्तक, रुमाल र चिठी दिएका थिए । त्यसैगरी दुर्गानन्दले ३ वटा चिठीहरु लेखेर चौकीदारको हातमा थमाएको थियो । एउटा चिठी पार्टी सभापति सुवर्ण शमशेरलाई, एउटा आमालाई र अर्को श्रीमतीको लागि लेखेको बताईन्छ ।
सफाईको मौका समेत नदिएर शाही शासकले २०१९ साल भदौ १९ मा दुर्गानन्द झालाई मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्डयाउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफि मागि बिन्तीपत्र लेख भनिएको थियो ।
त्यसअघि सरकारले एक विशेष अदालत गठन ग-यो, न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा । न्यायाधीशद्वय झपटसिंह रावल र गुणनाथ उपाध्यायको इजलासबाट गरिएको फैसलामा राजा माथि हातहतियार उठाएको अभियोगमा दुर्गानन्द झा, अरविन्द ठाकुर र विरगञ्जबाट समातिएका दलसिंह थापालाई मृत्यु दण्ड दिने निर्णय गरिएको थियो ।
राजदरबारबाट पुष १० गते जारी गरिएको पत्र अनुसार दुर्गानन्द झालाई मारिकाटि दिने सँगै अरविन्द ठाकुर र दलसिंह थापाको मृत्यु दण्डको सजायलाई आजिवन कारावासको रुपमा परिवर्तित गरिएको थियो ।
२०२० माघ १५ क्रान्तिकारी दुर्गानन्दलाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार थिए । नेपालको इतिहासमा फाँसीको सजाय पाउने एक मात्र ब्राहमण दुर्गानन्द झा नै हुन् । यसअघि र पछि कुनै ब्राहमणलाई मृत्युदण्डको सजाय दिइएको देखिन्न ।
विक्रम सम्वत १९१९ मा जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनमा फाँसीको सजायको उल्लेख भए पनि व्यवहारमा यसको नगण्य प्रयोग भएको देखिन्छ । मनुस्मृतिमा उल्लेख भए अनुसार धार्मिक दृष्टिले ब्राहमण, जोगी, सन्यासी, महिलालाई मृत्यूदण्ड को सजाय दिनु महापाप हो । यस मान्यतालाई स्थापित गर्ने १९१० को मुलुकी ऐनले यी वर्गलाई मृत्युदण्ड बर्जित भन्ने प्रावधानको समेत उल्लेख गरेको पाईन्छ ।
टंकप्रसाद आचार्य र रामहरि शर्मा यी दुई ब्राहमणलाई मृत्युदण्डको सट्टा वि.सं. १९९७ मा आजीवन कारावासको फैसला सुनाएर राणाशासकहरुले मुलुकी ऐनमा उल्लेखित उक्त प्रावधानको व्यवहारमा समेत पालना गरेको देखिन्छ । तर, पञ्चायतकालमा दुर्गानन्दको सवालमा यस प्रावधानको पालना गरिएको देखिन्न ।
‘म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्दैन’ मृत्युदण्ड अघि झाले भनेका थिए । दुर्गानन्दलाई मृत्युदण्ड दिनु अगाडि नै राजा महेन्द्र दरबार छाडेर उपत्यका बाहिर पहाड भ्रमणमा गएका थिए भने तत्कालिन मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरि अध्यक्ष भएका थिए ।
२०४६ सालको लोकतन्त्र स्थापना पछि दुर्गानन्दको जन्मथलो जटही पुगेर उनीप्रति सम्मान प्रकट गर्ने नेपाली कांग्रेसका नेताहरुको ओइरो नै लागेको थियो । गणेशमान सिंहले त जटहीको धुलोलाई पवित्र चन्दन भनेर शीरमा टीकासमेत दलेका थिए । तर विगतमा सबभन्दा बढी सत्ता सञ्चालनको अवसर पाएको नेपाली कांग्रेसले समेत दुर्गानन्दलाई न्याय दिलाउने आँट देखाउन सकेन ।
दुर्गानन्दकै गाउँबासी समेत रहेका नेपाली कांग्रेस धनुषाका तत्कालिन सभापति स्मृति नारायण चौधरीले जटही गाउँमा उनको सालिक सहितको प्रवेशद्वारको १५ माघ २०५३ मा सिलान्यास गरेका थिए भने ३ अषाढ २०५५ मा तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले उदघाटन गरेका थिए ।-शिस