सुरेन्द्र सिंह , जनकपुरधाम : आर्थिक , शैक्षिक र समाजिक दृष्टिले पिछडिएका प्रदेश नं. २ को विकासको गतिलाई तिब्र पार्न आवश्यक रहेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए । मंगलबार पत्रकार सम्मेलन गरि मन्त्री सोनलले जनआन्दोलन र मधेश आन्दोलन पश्चात देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न आम नागरिकको अधिकारको सुरक्षाका साथै गाउँ-गाउँमा विकास गर्न अपरिहार्यता दृष्टिगत गर्दै हामी संग पर्याप्त साधन श्रोत नभएपनि उपलब्ध साधन श्रोत र जनशक्तिको उपयोग हुन सकेको खण्डमा प्रदेश र देशको विकास हुन सक्ने कुरामा विश्वस्त छौं । त्यसको लागि सम्पूर्ण सरोकारवाला काय र आम नागरिक एकजुट भई अघि बढन जरुरी रहेको मन्त्री सोनलले बताए ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. २ ले तत्काल चारवटा ‘प्रादेशिक महत्वका योजनाहरु” शुरु गर्ने भएको समेत बताए । मन्त्री सोनलले प्रदेश नं. २ को ८ वटै जिल्लालाई जोडने गरी प्रादेशिक सडक निर्माण गर्ने योजना सरकारले लिएको छ । यस अन्तर्गत प्रत्येक जिल्लामा २५ देखि ३५ प्रदेशभरिमा करीब २५० किलोमीटर डबल लेन प्रादेशिक सडक निर्माण गर्ने योजना रहेको बताए ।
प्रदेशमा कृषि उत्पादन बढाउन र रोजगार श्रीजना गर्ने उद्देश्यले ‘हर खेत मे पानी, हर हात को काम’ योजना अन्तर्गत प्रदेश नं. २ को ८ वटै जिल्लामा डिप ट्यूवेल जडान, बाँध, बैरेज र नहरको निर्माण गरी पानीको श्रोतलाई तत्काल व्यवस्थापन गर्ने कायक्रम रहेको बताए ।
धेरै गरिब विपन्नहरुलाई बस्नका लागि घर समेतको व्यवस्था नभएकोले “जनता आवास कार्यक्रम” अन्तर्गत प्रदेश सरकारले प्रदेशको ८ वटै जिल्लामा डोम, हलखोर, मुसहर र मेस्तर जातका लागि घर निर्माण गर्ने कार्य पनि तत्काल शुरु गर्ने भएको छ । यी जातिहरुको घर बिहिनताको अवस्था समाप्त भएपछि क्रमशः सम्पूर्ण दलित एवं विपन्न समुदायमा यस कार्यक्रमलाई अगाडि बढाइने छ ।
त्यस्तै प्रदेशको विकासका लागि उर्जा नभई नहुने भएकोले उर्जा उत्पादन एवं विस्तार गर्ने उदेश्यले ५० मेगावाट सौर्य उर्जा (Solar Energy) उत्पादन गर्न पहल भई रहेको मन्त्री सोनलले बताए ।