जनकपुरधाम : धनुषा जिल्लाको सवैला नगरपालिकाको वडा नम्बर ४ कोठिया बल्टियामा शुक्रवार राती करिब सवा सात बजे जन्तीको बसमा विद्युत करेन्ट ११ हजार भोल्ट प्रवाह भएर ६ जनाको मृत्यु भएको र दर्जन बढी घाईते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षिय आक्रोस कुमार दनुवार, २० वर्षिय पूजा अधिकारी दनुवार, १७ वर्षिया लीला अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षिया रेशमदेवी कुमार दनुवार , दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवार , अन्दाजी ९ वर्षका बालक सुरज अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुवारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको ना.५ ख १७५२ नम्बरको बस विवाह सकेर जन्ती लिएर फर्किने क्रममा छतमा राखिएको चदराको बाकसमा ११ हजार भोल्टको तारले छोएपछि बसमा करेन्ट प्रवाह भएको थियो । मृतकहरुको शव पोष्टमार्टमका लागि रातिनै जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।