प्रकाश भन्डारी
हुण्डी शब्द संस्कृतबाट आएको शब्द हो । संस्कृतमा यसको अर्थ कुनै कुरा सङ्कलन गर्न राखिएको भाँडो भन्ने बुझिन्छ । अझ स्पष्ट भन्नु पर्दा मन्दिरहरूमा रकम सङ्कलन गर्न राखिने दानपात्रलाई हुण्डी भनिन्छ । यसै कारण एक ठाउँबाट पैसा पठाएर अर्को ठाउँमा सङ्कलन गरिने भएकाले यस्तो प्रक्रियालाई हुण्डी भनिएको हुनुपर्छ ।
हुण्डी धेरै पुरानो रकम स्थानान्तरण गर्ने माध्यममध्येको एक हो । आधुनिक बैङ्किङ प्रणालीको स्थापनाभन्दा पहिला नै हुण्डीको अस्तित्व कायम रहिसकेको पाइन्छ । सन् १५८६ मा जन्मिएका बनारसी दासले व्यवसाय शुरू गर्न आफ्नो बाबुबाट २ सय रुपैयाँ हुण्डीको माध्यमबाट प्राप्त गरेको इतिहास पाइने हुनाले यसको परम्परा धेरै पहिलेदेखि नै रहेको स्पष्ट हुन्छ ।
त्यतिबेला नै सहयोगी हुण्डी, दर्शनी हुण्डी र मुद्दती हुण्डी गरी तीन प्रकारका हुण्डी प्रचलनमा थिए भनिन्छ । धेरै सहयोगी व्यक्तिहरू हुँदै अन्तिम भुक्तानी पाउने मानिससम्म रकम पुग्ने प्रकारको हुण्डीलाई सहयोगी हुण्डी भनिएको अनुमान गर्न सकिन्छ । यसको विपरीत दर्शनी हुण्डी भनेको चाहिँ प्राप्त हुनेबित्तिकै भुक्तानी दिनुपर्ने गरी जारी गरिएको हुण्डी र मुद्दती हुण्डी भन्नाले निश्चित समयपछि भुक्तानी दिने गरी जारी गरिएको हुण्डीलाई बुझिने गरेको थियो ।
अवैध हुँदाहुँदै पनि यसरी लामो समयदेखि व्यापक मात्रामा हुण्डी प्रचलनमा रहनुमा धेरै कारण रहेका छन् । वर्तमानकै कुरा गर्ने हो भने रेमिट्यान्स कम्पनीमार्फत रकम स्थानान्तरण गर्नुभन्दा सस्तो दरमा यसमार्फत रकम पठाउन सकिने, रकम पठाउनेले कुनै स्रोत खुलाउनु नपर्ने र प्राप्त गर्नेले पनि कुनै प्रयोजन खुलाउनु नपर्ने, बैङ्कमा भन्दा विनिमय दर पनि बढी पाइने आदि कारणले हुण्डीको प्रयोग व्यापक भएको हुनुपर्छ । अझ कानूनी र नियमनकारी निकायद्वारा सम्परीक्षण हुनु पनि नपर्ने र जुनसुकै किसिमले आर्जन गरेको जतिसुकै रकम पनि निर्बाध पठाउन सकिने भएपछि त झन् यो प्रचलनमा नआउने कुरै भएन ।
बैङ्किङ प्रणालीमार्फत रकम पठाउन र प्राप्त गर्न लाग्ने समयभन्दा अपेक्षाकृत छोटो समयमा नै हुण्डीमार्फत रकम स्थानान्तरण र प्राप्त गर्न सकिने कारणले पनि यसको अवैध प्रचलन कायम रहेको बुझ्न गाह्रो छैन ।
अर्कोतर्फ प्रशासनिक झन्झटबाट मुक्ति, करको दायित्वबाट पाइने छुटकारा, सस्तो, प्रभावकारी, विश्वसनीय (?), बैङ्किङ झन्झटरहित, कागजी झमेला विहीन, आदि जस्ता स्पष्ट देखिने हुण्डीका विशेषताका कारण सर्वसाधारण व्यक्ति अवैध हुने भन्ने जानकारी नै नपाई हुण्डीप्रति आकर्षित भएका देखिन्छन् ।
तर, जेजस्ता विशेषता भए पनि हुण्डी एक अत्यन्तै जोखीमयुक्त एवम् असुरक्षित हुनुका साथै अवैधसमेत भएका कारण यसको प्रचलन अन्त्य हुनु जरुरी छ । हुण्डी कसरी असुरक्षित र जोखीमयुक्त हुन्छ भन्ने बुझ्न यसको कार्यप्रणालीका बारेमा बुझ्नु जरुरी हुन्छ ।
हुण्डीको कार्यप्रणालीका बारेमा कुरा गर्ने हो भने रकम पठाउनुपर्ने मान्छेले हुण्डी कारोबारी एजेण्टलाई आफ्नो पैसा बुझाउँछ र त्यो एजेण्टले भुक्तानी दिनुपर्ने व्यक्ति भएको ठाउँमा भएको आफ्नो अर्को एजेण्टमार्फत भुक्तानी दिन्छ । यसरी भौतिक रूपमा रकमको स्थानान्तरण नभईकन हुण्डीमा एजेण्टमार्फत केबल विश्वासको आधारमा मात्र रकमको कारोबार हुने गर्छ । हुण्डीमार्फत कारोबार हुँदा रकम व्यक्तिलाई भौतिक रूपमा नै हस्तान्तर गर्ने गरिन्छ । अर्को शब्दमा भन्ने हो भने यस्तो रकम कुनै बैङ्क खातामा जम्मा गर्ने काम यसमा हुँदैन । यसरी रकमको लेनदेन हुँदा कुनै पनि प्रकारको वैधानिक कागजात तथा अभिलेख नहुने भएकाले यस प्रणालीको सुरक्षा सम्बन्धमा गम्भीर प्रश्न चिह्न खडा हुन्छ ।
विश्वासको आधारमा एजेण्टमार्फत हुने कारोबार र त्यो पनि अवैध भएका कारण यदि हुण्डीको एजेण्टले वा हुण्डीवाला स्वयम्ले नै पनि बदमासी गरेको खण्डमा त्यसको कानूनी उपचार खोज्न सक्ने ठाउँ कतै बाँकी रहँदैन ।
यसरी हुण्डी सुरक्षा र जोखीमका दृष्टिले अत्यन्त कमजोर भए पनि यसका अन्य विशेषताहरूका कारण सम्पत्ति शुद्धीकरणका लागि भने यो एक भरपर्दो माध्यम भएको छ र नियमनकारी निकायका लागि गम्भीर चुनौतीको विषय भएको छ । सम्पत्ति शुद्धीकरणमा तीनओटा चरण हुने गर्छन्– प्रविष्टि, तहीकरण तथा एकीकरण । सम्पत्ति शुद्धीकरणको कुनै पनि चरणमा हुण्डीको दुरुपयोग हुन सक्छ ।
हुण्डीलाई अवैधानिक घोषणा गर्नुका पछाडि पनि यी र यस्तै धेरै कारण छन् । प्रायः हुण्डी सञ्चालकहरू अन्य कुनै न कुनै व्यवसायसँग सम्बन्धित हुन्छन् । खास गरी आयातनिर्यात व्यवसायमा संलग्न हुनेहरूलाई हुण्डी कारोबार गर्न सहज हुने देखिएको छ । उनीहरूले यसरी हुण्डीमार्फत अवैधरूपमा भिœयाएको रकमलाई पछि व्यवसायको सन्दर्भमा जारी गरिने दुई पक्षीय बीजकहरूलाई अधिक वा न्यून मूल्याङ्कन गराई वैधानिकता प्रदान गर्ने गरेको देखिन्छ । नेपालमा पनि हालै प्रकाशित हुण्डी कारोबारको एक घटनामा यस्तै कारोबार गर्ने व्यावसायिक घरानाहरू नै संलग्न भएको देखिनु यसैको एउटा उदाहरण हो ।
यसका अलावा ट्राभल तथा टूर सञ्चालकहरू, गहना व्यवसायमा संलग्नहरू, विदेशी मुद्राको विनिमयसम्बन्धी कारोबारमा संलग्न हुनेहरू, कार्पेट आयातनिर्यात गर्नेहरू, पुराना तथा नयाँ गाडीका कारोबारीहरू, भाडामा गाडी उपलब्ध गराउनेहरूलगायत अन्य केही गैरसरकारी संस्था सञ्चालकसमेत हुण्डी कारोबारका लागि संदिग्ध मानिन्छन् ।
अझ जुवाजस्ता अवैध क्रियाकलापमा संलग्न हुनेहरूले त झन् हुण्डीलाई वैकल्पिक बैङ्किङ प्रणालीका रूपमा प्रयोग गरिरहेका कारण उनीहरू पनि सम्पत्ति शुद्धीकरण लागि संदिग्ध व्यक्तिहरूको सूचीमा पर्छन् ।
यसरी हुण्डी एक अवैध, वैकल्पिक बैङ्किङ कारोबार भएको तथा यसबाट सम्पत्ति शुद्धीकरणजस्तो कार्यसमेत हुने भएकाले हुण्डीको कारोबारलाई निरुत्साहित गर्नु जरुरी छ । समाजको रोगका रूपमा रहेको हुण्डी व्यवसायलाई कडाइका साथ निगरानी गरी त्यसमा रहेका जोखीमका बारेमा यथार्थ जानकारी तथा पर्याप्त मात्रामा गरिने अविबोधले सर्वसाधारणलाई यसको नकारात्मक पक्षका बारेमा सचेत गराएर समाजलाई स्वच्छ बनाउने अभियानमा प्रभावकारी भूमिका खेल्न सक्छ । बैङ्कमा हुने अधिक र अस्वाभाविक नगद तथा चेकको कारोबार, शङ्कास्पद कारोबार माथिको निगरानीलगायत कुराबाट हामी हुण्डीमाथि नियन्त्रण गर्न सक्छौं । प्रभावकारी नियमन तथा चुस्त प्रशासन हुण्डी कारोबार नियन्त्रणका लागि अनिवार्य शर्त हो ।
लेखक बैङ्कर हुन् ।