काठमाडौं। ६ वर्षमा लुट, लुट–२, छड्के, रेशम फिलिली, कान्छी, क्री, राज्जारानी, पलाससहित डेढ दर्जनभन्दा बढी हिट चलचित्रमा काम गरेका अभिनेता कामेश्वर चौरसियाले विगत एक वर्षयता चलचित्र नपाउँदा काठमाडौंमा डेरा भाडा तिर्न गाह्रो परेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बाहिरबाट हेर्दा सबैले वाहा स्टार कलाकार कामेश्वर भन्छन् तर एक वर्षदेखि चलचित्र नपाउँदा काठमाडौंमा हातमुख जोर्न गाह्रो पर्ने अवस्था आएको छ ।’ कुराकानीकै क्रममा आफ्नो समस्या सुनाउने क्रममा भावुक भएका कामेश्वरले भने, ‘एक वर्ष अघिसम्म नियमित चलचित्रमा राम्रै भूमिका निर्वाह गरिरहेको मलाई अहिले चलचित्रमा एक सिनको अतिथि भूमिका गरिदिनुस् भनेर प्रस्ताव आउँछ, अब मैले गेस्ट रोल गरेको कमाइले कसरी आफू र परिवार पाल्ने ?’
उनको श्रीमती र एक छोरी गाउँमै छन् । पछिल्लो समय हातमा चलचित्र नभएकै कारण आफू एक्लै जेनतेन काठमाडौंमा बसिरहेको र केही काम गरौं भन्दा पनि काम नपाएको घटना सुनाउँदै उनले भने, ‘चिनेका साथीहरूसँग मैले काम पनि मागें तर तिमी चलचित्रको हिट मान्छे भन्दै काम दिन चाहेनन् ।’ चलचित्रले चर्चित बनाएका कारण आममानिसजसरी काम पाउन गाह्रो हुने गरेको पनि कामेश्वरले खुलाए । कामेश्वरको भनाइमा उनले एक वर्षअघि चलचित्र गरुड पुराणमा काम गरे । त्यसको कमाइले केही महिना राम्रै गुजारा भयो । तर, त्यसपछि आफ्नो हातमा काम नआएका कारण आर्थिक संकट भोग्नुपरेको गुनासो उनले गरे ।
अहिले आफू करिअरको माझधारमा रहेको खुलाउँदै उनले भने, ‘यदि चलचित्रले आर्थिक अवस्था राम्रो हुँदैन भने घर फर्किएर घरखेत सम्हाल्न परिवारको दबाब छ तर म काठमाडौंमा बसेर चलचित्रमा व्यस्त हुन संघर्ष गरिरहेको छु ।’ आउँदो ४ माघमा चलचित्र गरुड पुराण रिलिज हुने र त्यसपछि पनि आफूले काम नपाएको खण्डमा बाँच्नका लागि चिया पसल भए पनि खोल्ने मनस्थितिमा आफू पुगेको उनले बताए ।
लामो समय खाली बस्नुपर्दा बेरोजगारीले डिप्रेसनको समस्या निमत्याउने गरेको कामेश्वरले बताएका छन् । आफूमा पनि सुरुमा त्यस्तै समस्या आए पनि साथीहरूको सहयोगले विस्तारै काम पाउँछु भन्ने आशा जाग्दै गएको कामेश्वरको कथन छ । मधेसी मूलको भूमिकामा प्रायः कामेश्वरलाई लिने गरिन्छ । तर, नेपाली चलचित्रमा मधेसी मूलको भूमिका कम हुने भएकाले अन्य भूमिका पनि आफूले त्यत्तिकै राम्रो गर्न सक्ने अभिनेता कामेश्वरले बताए । ‘मलाई मधेसी मात्र होइन, जुनसुकै जाति तथा भाषाको भूमिका दिए पनि म गर्न सक्छु, चलचित्र गरुड पुराणमा आफूले गरेको उधारो डनको भूमिका पनि त्यसको उदाहरण हो ।’ त्यसैले, आफू जस्तोसुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको यी अभिनेताले बताए ।
छानेर राम्रो चलचित्रमा मात्र काम गर्छ भन्ने आरोप केही निर्माता निर्देशकको थियो । भावुक हुँदै अभिनेता कामेश्वर चौरिसयाले भने, ‘अब आफूले कुनै भूमिका नछान्ने, आफू सुहाउँदो जस्तो भूमिका आए पनि मेहनतका साथ त्यसलाई सफल तुल्याउने पक्षमा छु, काठमाडौंमा बाँच्नै धौधौ परेका बेला पेट पाल्न म जस्तो पनि भूमिका गर्छु, मेरो कुनै डिमान्ड खोक्रो सान छैन ।’