जनकपुर २८ गते
करोडौंको जग्गा कीर्ते गरेर बेचेको आरोपमा पक्राउ परेका महन्त वैकुण्ठ दासमाथि १६ करोड बिगो मागदाबी गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत हजारी जनक विद्यापीठको जग्गा कीर्ते गरी बिक्री गरेको भन्दै जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दासमाथि सो रकम बराबरको बिगो मागदाबी गरिएको हो।
जग्गा कीर्ते तथा जालसाँजी मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका दासलाई पक्राउ गरिएको थियो।
काठमाडौंको बागबजार क्षेत्रबाट दासलाई अदालतमा हाजिर गराइएको थियो।
महन्त दासले नक्कली लालपुर्जा बनाएर जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसहिया निवासी अशोककुमार शर्मालाई नक्कली जग्गाधनी खडा गरी बेचेका थिए।
जनकपुरधाम उप–महानगरपालिका–२३ का अशोक शर्माको बयानका आधारमा सरकारी छाप दस्तखत किर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्तको समेत संलग्नता रहेको खुलेको थियो।
प्रहरी हिरासतमा रहेका शर्माले प्रहरीलाई दिएको बयानअनुसार रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो। -शिस