जनकपुर, २६ गते मंसीर
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा साता व्यापी भगवान सीताराम विवाह महोत्सव अन्तर्गत स्वयंवर कार्यक्रम सम्पन्न भएका छ भने राती मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रमको आयोजना हुने छ ।
जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
महोत्सवमा सहभागी हुन नेपाल, भारत लगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवको स्वरूप ग्रहण गरेको देखिएको छ ।
एक साता अघिदेखि नै वैवाहिक विधि सुरू भए पनि आज हुने वैवाहिक समारोहमा सहभागी हुन जनसागर ओर्लि सकेका छन् ।
त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा तेत्तीस कोटीदेवी देवताको उपस्थिति रहेको थियो ।
सीतालाई छोरी– बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाई लगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गर्छन् ।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार सम्पन्न हुने गरेको छ।
पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकी सहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला (सिंहासन)मा राखी रङगभूमिमा पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिने चलन रहेको छ ।
रंङ्गभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ ।
त्यस अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा अधिराज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् ।
रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौंँ संख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाह भन्दा रमाइलो हुने गरेको छ।
फूलबारी प्रशङ्गदेखि स्वयम्बरसम्मको आयोजनाले महोत्सव देवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् ।
महोत्सवका दिन श्रद्धालु बिहान सबैरेदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ ।
यस वर्ष भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको विशेष जन्ती बनेर मुख्य अतिथीको रुपमा विवाहपञ्चमीका सहभागी भए ।
योगीको विशेष उपस्थितीमा आज रंगभूमि मैदानमा राम र सीताको प्रतिकात्मक जोडीको स्वयंवर गरिएको छ ।
त्यस अवसरमा विभिन्न किसिमको साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरियो ।
आज अवेर राती जानकी मन्दिरको प्रांगनमा वैवाहिक कार्यक्रमको आयोजना हुनेछ भने भोली रामकलेवा अर्थात जन्तीको विदाई गरि साता व्यापी रामजानकी विवाहमहोत्सवको सम्पन्न हुने छ ।