महेन्द्रनगर २२ गते
क्षीरेश्वरनाथ नगरपालिकामा आयोजना भएकोे अन्तर वडा स्तरीय फूटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा वडा नं. ३ लाई वडा नं. ५ ले शुन्यका विरुद्ध ४ गोल प्रहार गरि प्रतियोगिता माथि कब्जा जमाउन सफल भएको छ ।

महेन्द्रनगर क्षीरेश्वर जन्ता उच्च मा.वि.को खेलमैदानमा मंसिर १५ गते देखि क्षीरेश्वरनाथ नगरपालिका अन्तर वडा फूटबल प्रतियोगितामा जम्मा ८ ओटा टिमको सहभागिता थियो ।
नगरपालिकाको सहयोग र क्षीरेश्वर स्पोर्टको आयोजनामा भएको यस प्रतियोगितामा प्रथम हुने वडा नं. ५ का टिमलाई नगद १० हजार र द्वितिय हुने टिमलाई नगद रु. ५ हजार सहित प्रमाण र सिल्ड प्रदान गरिएको छ भने सबै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र छुट्टै प्रदान गरिएको छ ।
त्यसैगरि प्रतियोगितामा वेस्ट स्कोररको उपाधी वडा नं. ५ का खेलाडी कृष्ण यादव, बेस्ट प्लेयर वडा नं. ५ का खेलाडी प्रकाश अधिकारी र वडा नं. ६ का इन्द्रजित पासवान, वेस्ट डिफेन्स वडा नं. ३ का अब्दुल वारिक हुसेन, वेस्ट मिड फिल्डरका उपाधी वडा नं. ५ का विरेन्द्र यादवलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै क्षीनपाका मेयर योगेन्द्र पजियारले प्रतियोगिता सफल बनाउन सहभागीहुने सबै टिमका खेलाडीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले भने, ‘खेलमा हारजित हुनु स्वभाविक भएकोले खेल खेल्दा कसैको हार र कसैको जीत हुनु स्वभाविक भएकोले निरन्तर मिहिनेत र अभ्यासले आफ्नो खेललाई अझ राम्रो बनाउन सकिन्छ ।’
मेयर पजियारले यस खेल प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरि विशेष तालिम प्रदान गरिने तथा निकट भविष्य मै मेयर कप प्रतियोगिताको आयोजना हुने उद्घोष गरे ।

