युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका छन् । यतिवेला उनलाई विश्वमै ख्यातिप्राप्त टी–२० र टी–१० लिग खेल्न भ्याई–नभ्याई छ ।
उनी यतिसम्म व्यस्त छन् कि उनले घरेलु टी–२० एभरेस्ट प्रिमियर लिगमा समेत खेल्न नभ्याउने भएका छन् । उनी ललितपुर पेट्रियट्सबाट दुई खेल मात्र खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया जानेछन् । उनले यो वर्ष मात्र पाँचवटा लिग खेलिसकेका छन् । अरू चार लिग खेल्ने तयारीमा छन् । यो वर्ष खेलेरै उनले दुई करोड रुपैयाँ कमाइसकेका छन् ।
क्याम्पाचौरबाट सुरु यात्रा
साढे दुई वर्षअघि प्रशिक्षक पुबुदु दासानायकेले चितवनबाट काठमाडौंमा ल्याउँदा सन्दीप लामिछानेको क्रिकेट यात्रा कहाँसम्म पुग्छ वा रोकिन्छ भन्ने कसैलाई थाहा थिएन । जर्नी टु विश्वकपका लागि प्रशिक्षक पुबुदुलाई बिल्कुलै नयाँ युवा खेलाडीको आश्यकता थियो । यही अभियान पूरा गर्न उनी एक दिन चितवन पुगेका थिए । त्यहाँको क्याम्पाचौरमा एक १६ वर्षीय ठिटो बलिङ गरिरहेको थियो । उसलाई पूर्वक्रिकेटर राजु खड्काले प्रशिक्षण दिइरहेका थिए । त्यो ठिटोको खेल देखेर पुबुदु प्रभावित भइहाले । ती ठिटो थिए, सन्दीप लामिछाने ।
सन्दीपको लेगब्रेक र गुगुली देख्दा नेपालका लागि क्यानेडियन प्रशिक्षक पुबुदु दंग परेका थिए । आँखा नै झिमिक्क नगरी पुबुदुले सन्दीपको बल फयाँक्ने शैली र पिचमा बलको टर्निङ हेरिरहे । त्यसपछि उनले सन्दीपलाई एकैपटक जर्नी टु विश्वकपको क्याम्पमा समावेश गरे । रमाइलो पक्ष के थियो भने त्रिवि क्रिकेट मैदानमा सिनियर टोलीका अनभुवी खेलाडीले पनि सन्दीपमाथि विश्वास गरेका थिएनन् ।
क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा औसतमा ६७ लाख पुगिसकेको छ । पछिल्लोपटक अस्ट्रेलियाको बिग ब्यास र बंगलादेश प्रिमियर लिगले उनलाई ६० हजार डलरमा अनुबन्ध गरेका छन् । अब विश्वको प्रत्येक टी–२० लिगमा सन्दीप अपरिहार्य खेलाडी भइसकेका छन् ।
धेरैजसोले ‘पुबुदुले कस्तो फुच्चे खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरेको’ भनेर टिप्पणी गरेका थिए । केही समय सन्दीपले नेपालका स्टार क्रिकेटरको बीचमा एक्लो महसुस पनि गरे । अझ फर्ममा रहेका र लामो समय नेपाली क्रिकेटलाई योगदान दिइरहेका स्ट्राइक स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीबीच सन्दीपले आफूलाई प्रमाणित गर्नुपर्ने थियो । राष्ट्रिय टोलीमा समावेश भई प्लेइनिङ ११ भित्र अटाउनु पनि चुनौतीपूर्ण थियो । तर, उनले आफूलाई अब्बल प्रमाणित गरिछाडे ।
सन्दीपको मूल्य ६७ लाख
प्रशिक्षक पुबुदुले भारतमा भएको सन् २०११ को एकदिवसीय विश्वकपमा क्यानडालाई छनोट गराएका थिए । तिनै प्रशिक्षकको कोहिनुर हिरा कहाँ नक्कली हुन सक्छ र ? वास्तवमै सन्दीप अहिले कोहिनुर हिराझैँ चम्किएका छन् । क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा औसतमा ६७ लाख पुगिसकेको छ । पछिल्लोपटक अस्ट्रेलियाको बिग ब्यास र बंगलादेश प्रिमियर लिगले उनलाई ६० हजार डलरमा अनुबन्ध गरेका छन् । अब विश्वको प्रत्येक टी–२० लिगमा सन्दीप अपरिहार्य खेलाडी भइसकेका छन् । एक वर्षभित्र सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्लबमा आबद्ध हुँदै दुई करोड हाराहारीमा आम्दानी गरिसकेका छन् ।
नेपालको जस्तो अर्धव्यावसायिक खेलकुदमा खेलेरै करोडपति हुने उनी एक्ला खेलाडी हुन् । अपवादका रूपमा केही खेलाडी छन्, जो सरकारबाट पुरस्कृत हुँदै करोडपति बनेका छन् । तर, मैदानभित्र खेल्न लाखौँमा बिक्री हुने र एक वर्ष नपुग्दै करोडपति खेलाडीमा दर्ता हुने उनी मात्र हुन् । ‘यो मेरो सफलता नेपालको सफलता हो, म सफल हुनु भनेको राष्ट्र पनि सफल हुनु हो,’ सारजहाँमा चलिरहेको टी–१० लिगमा आबद्ध हुनुअघि एक पत्रकार सम्मेलनमा सन्दीपले भनेका थिए ।
सन्दीपको सफलता र चर्चाको पछि सम्भवत दुई प्रमुख व्यक्ति छन् । प्रशिक्षक पुबुदु पहिलो हुन्, जसले सन्दीपलाई प्लेटफर्म दिलाए । त्यसपछि अस्ट्रेलियाका एकदिवसीय विश्व च्याम्पियन कप्तान माइकल क्लार्कलाई हुन् । यदि क्लार्कले सन्दीपलाई ‘वर्ल्ड क्लास’ लेग स्पिनर भनी प्रशंसा नगरेका भए यति चाँडै यहाँसम्म पुग्न उनलाई मुस्किल हुन सक्थ्यो । वास्तवमै सन्दीप र क्लार्कबीचको कनेक्सन जादुमयी नै थियो ।
दुई वर्षअघि क्लार्कले आफ्नो एकेडेमीमा प्रशिक्षण गर्न सन्दीपलाई बोलाए । त्यहीँबाट सन्दीपका लागि अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खुल्यो । सिड्नी एयरपोर्टदेखि एकेडेमीसम्म क्लार्कले सन्दीपलाई आफ्नै सानो भाइजस्तै व्यवहार देखाए । यति मात्र होइन, क्लार्कले सन्दीपलाई विश्वभरि चिनाउन टेलिभिजन लाइभ कार्यक्रमसमेत राखे । त्यहाँ सन्दीपलाई क्लार्क ‘लिलिट च्याम्प बडी’ भनी बोलाए । एक तथ्यांकअनुसार एक वर्षभित्र १० राष्ट्र भ्रमण गर्ने र युवा अवस्थामा धेरै टी–२० लिगमा आबद्ध हुने सन्दीप विश्वका दसौँ क्रिकेटर बनेका छन् ।
आइपिएल यात्रा
सन् २०१२ तिर इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले शक्ति गौचनलाई ट्रायलमा बोलाउँदा ठूलै चर्चा भएको थियो । उनले ट्रायल दिएको पाँच वर्षपछि सन्दीप सीधै आइपिएलको अक्सनमा परे । नेपाली खेलाडी सीधै अक्सनमा समावेश भएको रेकर्ड बन्यो । दिल्ली डेयरडेभिल्सले विदेशी खेलाडीको कोटामा सन्दीपलाई २० लाख भारुमा अनुबन्ध ग-यो ।
नेपालको जस्तो अर्धव्यावसायिक खेलकुदमा खेलेरै करोडपति हुने सन्दीप एक्ला खेलाडी हुन् । केही खेलाडी छन्, जो सरकारबाट पुरस्कृत हुँदै करोडपति बनेका छन् । तर, मैदानभित्र खेल्न लाखौँमा बिक्री हुने र एक वर्ष नपुग्दै करोडपति खेलाडीमा दर्ता हुने उनी मात्र हुन् ।
धेरै नेपाली समर्थकलाई के लागेको थियो भने गत सिजनको आइपिएलमा सन्दीप सुरुमै दिल्लीको प्लेइनिङ ११ भित्र पर्नेछन् । तर, सन्दीपले आइपिएल डेब्यु गर्न ११ खेलसम्म प्रतीक्षा गर्नुप-यो । भनिन्छ, प्रतीक्षाको फल असाध्यै मीठो हुन्छ । सन्दीपको हकमा यस्तै भइदियो ।
जब दिल्ली प्ले अफको दौडबाट बाहिरियो, प्रशिक्षक रिकी पोन्टिङले १२औँ खेलमा सन्दीपलाई समावेश गरे । उनले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध बलिङ गर्ने अवसर पाए । मैदानमा प्रवेश गरेलगत्तै सन्दीपले एकैपटक तीन रेकर्ड राखे । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, आइपिएलमा तेस्रो कम उमेरका खेलाडी तथा आइपिएल खेल्ने १३औँ राष्ट्रका खेलाडी ।
आइपिएलको डेब्यु खेलमै सन्दीपले सनसनीपूर्ण बलिङ गरी भारतीय कप्तान कोहली र दक्षिण अफ्रिकाका एबि डी भिलियर्सजस्ता दिग्गज ब्याट्सम्यानलाई बाँधेर राखे । पार्थिव पटेललाई आउट गरेर विकेट पनि लिए । त्यसपछि सन्दीपले थप दुई खेलमा पनि अवसर पाए । उनले तीन खेलेर जम्मा पाँच विकेट लिए । ‘११ खेलको प्रतीक्षा गरेँ, मैले कुनै पनि समयमा धैर्य गुमाइनँ,’ आइपिएलमा सहभागी भएर नेपाल फर्किंदा सन्दीपले भनेका थिए ।
एक वर्षभित्र सन्दीपले टी–२० लिगहरूमा गरेको प्रदर्शन आधारमै दिल्लीले यसपटक पनि उनलाई नयाँ सिजनका लागि रिटेन गरेको छ । यसपटक सन्दीपको मूल्य पक्कै पनि बढ्नेछ । तर, कति बढ्ने हो, त्यो यकिन भइसकेको छैन । दिल्लीले अब एक करोडभन्दा माथि नै पारिश्रमिक दिने अनुमान छ । किनभने सन्दीप युवा क्रिकेटरमाझ स्टार बनिसकेका छन् । ‘दिल्लीबाट पुनः खेल्न पाउँदा खुसी लागेको छ, यसपटक प्राप्त अवसरमा थप राम्रो प्रदर्शन गर्छु,’ दिल्लीले रिटेन गरेपछि सन्दीपले ट्विट गरे ।
व्यस्त समयतालिका
आइपिएलबाट सुरु भएको सन्दीपको फ्रेन्चाइज टी–२० यात्राले निकै फड्को मारिसकेको छ । सायद, सन्दीप स्वयंले पनि आफू एकाएक विश्व क्रिकेटकै प्रिय युवा क्रिकेटर हुन्छु भनेर कल्पना पनि गरेका थिएनन् होला । अहिले उनी टी–२० क्रिकेटकै एउटा ब्रान्डेड खेलाडी बनिसकेका छन् । जो–कोही क्लबले पनि उनलाई आबद्ध गर्न चाहन्छन्, औसतभन्दा अलि बढी रकम तिरेर भित्र्याउन अग्रसर भइरहेका छन् । यसै कारण हो, विश्वमा जति पनि फेन्चाइज क्लबबीच टी–२० खेल भइरहेका छन्, त्यहाँ नेपालको पनि प्रतिनिधित्व गरी सन्दीपले गुगुली बल फ्याँकिरहेका हुन्छन् ।
आउँदा पाँच महिनासम्म सन्दीप नेपालमा भन्दा विदेशी भूमिमै रहनेछन् । यस अवधिमा सन्दीपले पाँच राष्ट्रमा लिग खेल्नेछन् । आइपिएलपछि उनी विश्वकै अर्को प्रतिष्ठित लिग बिग ब्यास खेल्न जाँदै छन् । तर, उनले बिग ब्यासका पूरै खेल भने खेल्ने छैनन् । बीचमा बंगलादेश प्रिमियर लिग खेल्न आउनेछन् । र, फेरि अस्ट्रेलिया फर्किनेछन् । यहीबीच समय मिलाउँदै उनी घरेलु टी–२० लिग र राष्ट्रिय टोलीमा पनि आबद्ध हुनेछन् । यो समचार आजको नया पत्रीकामा प्रकाशित भएको छ|